१५ बैशाख २०८१, शनिबार
Follow Us

एमालेको चुनावी कार्यक्रम सार्वजनिक

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार १५:२८

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका जिल्लामा हुने चुनावी कार्यक्रम तय भएको छ ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भई नेताहरु खटिनुभएको हो । अध्यक्ष ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायत चुनावीसभा र कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । वरिष्ठ नेता झलनाथ खनालको सोही दिन बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ ।
नेता माधवकुमार नेपाल प्रदेश नं २ का विभिन्न जिल्लामा सक्रिय रहिआउनुभएको छ । आफ्नो गृह जिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारसँग घरदैलो पनि गरिरहनुभएको छ । उहाँले शुक्रबार सिरहाको गोलबजार नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा रहनुहुनेछ ।
महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । उहाँ शुक्रबार सिरहा र सप्तरीका कार्यक्रममा केन्द्रित रहनुहुनेछ ।