७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजधानीमै २ हजार रोपनीमा व्यवसायिक गाँजा खेती, वडाअध्यक्ष नै फरार

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार ०६:४१

काठमाडौं । काठमाडौको गोकर्णेश्वर नगरपालिका–१ मुलखर्क, ओखरेनी र चिलाउने लगायतका गाउँमा लगाइएको गाँजा प्रहरीले फडानी गर्न शुरु गरेको छ । गाँजा फडानी गर्न झन्डै एक साता लाग्ने प्रहरीले जनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले हिजो बिहीबारदेखि नष्ट गर्न थालिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिए ।
उक्त गाँजा जंगली झारका रुपमा उम्रिएको बताइएको छ । उक्त गाँजा खेतीबारे स्थानीयवासी केही बोल्न चाहदैनन । प्रहरीले जानकारी लिन वडाअध्यक्षसँग सम्पर्क गर्न खोजेको थियो, तर उनी सम्पर्कमा नआएको गाँजा फडानीमा संलग्न प्रहरीहरुले बताए । निकुञ्जसँग जोडिएको सो ठाउँमा करिब दुईहजार रोपनी क्षेत्रमा गाँजा खेती गरिएको उनले बताए । बाँकी एक हजार ३०० रोपनी क्षेत्रफलको गाँजा पनि यसै हप्ता नष्ट गर्ने तयारी भएको वृत्तले जनाएको छ ।
काठमाडौंभित्रै रहेको गाँजा बगानबारे चार किलो मिटर दुरीमा रहेको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलको कार्यालयलगायत सम्बद्ध निकाय बेखबर थिए ।
सञ्चारमाध्यममा समाचार आउन थालेपछि प्रहरी गाँजा फडानी गर्न बाध्य भएको हो । मुलखर्कमा मकैबारीभित्र गाँजाको खेती गरिएको छ भने, ओखरेनी, चिलाउने लगायतका गाउँहरुमा विशुद्ध रुपमा गाँजाकै मात्र खेती गरिएको छ ।