१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजधानीबाट मात्रै एक हजार भन्दा बढी मोटरसाइकल चोरी

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार १४:४१

काठमाडौं । शहरमा बसोवास गर्नेका लागि आजकल मोटरसाइकल अत्यावश्यक साधन बन्न पुगेको छ । साँगुरो सडक र सस्तो मुल्यमा समेत पाउने भएपछि नेपालमा मोटसाइकल चढनेको संख्या पनि दिनानुदिन बढदो छ ।

तर, फितलो सुरक्षा व्यवस्था र कमजोर कानुनका कारण मोटरसाइकल चोरीका घटना दिनानुदिन बढदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत पीडित शाखाका अनुसार राजधानीबाट मासिक ६० देखि ७० वटा मोटरसाइकल हराउने गरेको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७३-७४ मा राजधानीका विभिन्न स्थानबाट १ हजार १४ मोटर साइकल चोरी भएको थियो । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामै २ सय ४४ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको छ ।

यसरी चोरी हुनेमा सबै किसिमका मोटरसाइकल भएपनि पल्सर मोटर साइकल चोरीको घटना धेरै देखिएको छ । चोरी भएका मोटर साइकलबारे प्रहरीमा जानकारी गराइए पनि कमै मात्र मोटरसाइकल भेटिने गरेको छ । महाशाखाका अनुसार गत आर्थिक वर्षमा हराएका मध्ये २ सय ९२ मात्रै मोटरसाइकल भेटिएको थियो ।

चोरी हुने बित्तिकै प्रहरीलाई जानकारी गराएपनि आफुहरुको मोटरसाइकल नभेटिएको कतिपयको गुनासो छ । केही भाग्यमानी मोटरसाइकल धनीहरुले हराएको केही दिन मै मोटरसाइकल खोजिदिएकोमा प्रहरीको प्रशंसा समेत गरेका छन । उनीहरुका अनुसार अधिकाँश मोटरसाइकल पार्किङ गरेको स्थानबाटै चोरी हुने गरेको छ ।

मोटरसाइकल चोरहरुले यस्ता मोटरसाइकल अन्य शहरमा विक्री गर्ने गरेका छन । भने कतिपयले मोटर साइकलको पार्टपुर्जालाई छुट्टाएर विक्री गर्ने गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरहरुलाई प्रहरीले पक्राउ नगरेको पनि होइन तर न्युन धरौटीमा रिहा गर्ने कानुनका कारण चोरी नरोकिएको प्रहरीको भनाई छ ।

कारण जे सुकै होस, तर राजधानीका लागि अत्यावश्यक सवारी साधन पार्किङस्थलमा समेत सुरक्षित नभएपछि आम मोटरसाइकल धनी चिन्तित बनेका छन ।