१५ चैत्र २०८०, बिहीबार
Follow Us

सम्पत्ति शुद्धीकरण

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार ०५:०४

काठमाडौं । तपाईं करोडौँ सम्पत्तिका मालिक हुनुहुन्छ । कतै यी रकम तथा सम्पत्तिका कारण सम्पत्ति शुद्धीकरणको झमेलामा त फस्ने होइन भनी चिन्तित हुनुहुन्छ ? यदि तपाईंले राम्रो काम गरी रकम आर्जन गर्नुभएको छ भने चिन्ता गर्नुपर्दैन । निर्धक्क भएर आफ्नो व्यवसाय अघि बढाउँदै थप रकम आर्जन गर्न सक्नुहुनेछ ।

यो जानकारी नेपाल चेम्बर अफ कमर्सले शुक्रबार आयोजना गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयको अन्तक्र्रियामा सम्पत्ति शुद्धीकरण विभाग तथा नेपाल राष्ट्र बैंकका अधिकारीले दिनुभएको हो ।

उहाँहरुका अनुसार अवैध रुपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रचलन विश्वव्यापी रुपमा बढ्दै गएकाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन विश्वका धेरै मुलुकले सम्पत्ति शुद्धीकरणको कानून बनाई लागू गरेका छन् ।

ती अधिकारीका अनुसार कुनै व्यक्तिलाई आफ्नो खातामा नगद जम्मा गर्न कुनै समस्या छैन, अर्काको खातामा नगद जम्मा गर्नुप-यो भने परिचयपत्र देखाउनुपर्छ । यो नियन्त्रित प्रणालीले गलत तत्व निरुत्साहित हुन्छ ।

सन् २०११ मा संयुक्त राष्ट्र संघले गरेको एक अध्ययनमा विश्वको कूल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत रकम बराबरको कालो धन रहेको छ । हाल विश्वमा वार्षिक ३०० अर्ब बराबरको मुद्रा अपचलन हुन्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानेका अनुसार भ्रष्टाचार, करछली, लागुऔषध, मानव तस्करी, सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरणजस्ता ३२ अपराध सम्पत्ति शुद्धीकरणभित्र पर्छ । उहाँले यसरी अकूत सम्पत्ति आर्जन गरी कमाएको पैसा बैंक, घरजग्गा, क्यासिनो, बहुमूल्य धातु खरिदमा प्रयोग गर्ने गरिएको बताउनुभयो ।

नेपाल सुन चाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर वज्राचार्यले सरकारले सुनचाँदी व्यवसायमा पनि केवाइसी लागू गर्न लागेको कुरा सकारात्मक भएको बताउनुभयो । उहाँले संघअन्तर्गत २० हजार व्यवसायी रहेको र आफूकहाँ सुन खरिद गर्न आउने ग्राहकको पहिचान गर्न कठिन रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले नेपालमा विसं २०६४ भन्दा अघिसम्म सम्पत्ति शुद्धीकरणको कानून नभएको बताउनुभयो । उहाँले सन् २००८ मा नेपालमा शुरु भएको सम्पत्ति शुद्धीकरण कानून विश्वमा १९२० देखि नै महत्वपूर्ण कानूनका रुपमा लागू भइसकेको र यसको कारण स्विट्जरल्याण्डजस्ता मुलुक विकास भएको बताउनुभयो ।

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले गलत ढंगले पैसा कमाउने र लुकाउने प्रवृत्ति बढेको छ भन्दै कानूनको घेराभित्र ल्याएर गलत काम गर्नेलाई दण्ड दिनुपर्ने बताउनुभयो ।