१५ बैशाख २०८१, शनिबार
Follow Us

सुरक्षा व्यवस्थाको तयारी पूरा

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७४, शनिबार १५:२०

काठमाडौं । असोज दुई गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आह्वान पनि गरेको छ ।
मन्त्रालयले सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिएको जनाएको छ । आवश्यकता अनुसार सो संख्या बढ्नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ ।
प्रदेश नम्बर दुईका आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषाका १ सय ३६ स्थानीय तहमा पर्सी असोज २ गते निर्वाचन हुँदैछ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।