१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा भूकम्पीय जोखिम अझै उच्च: दीक्षित

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७४, आईतवार ०७:१०

लन्डन । नेपालमा भूकम्प सुरक्षाकालागि अभियान चलाइरहेका भूगर्भविद् आमोदमणि दीक्षितले नेपालमा भूकम्पीय जोखिम अझै उच्च रहेको बताएका छन् । गत साता लण्डनको इन्स्टिच्युट अफ एडुकेशनस्थित शिक्षा तथा अन्तर्राष्ट्रिय विकास केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेपाल भूकम्प प्रविधि समाज (एनसेट) का कार्यकारी निर्देशक डा. दीक्षितले दुई वर्ष अघि गएको विध्वंशकारी भूकम्पमा पृथ्वी मुनि सन्चित केवल १० प्रतिशत जति उर्जामात्रै बाहिर निस्कि.एको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको बताए।
“नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ, त्यसैले हामीले भूकम्प लगायतका प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने जोखिम घटाउन प्राविधिक ज्ञानलाई जनसमुदायसंग जोडन आवश्यक छ,” उनले भने।
२०७२ सालको भूकम्पमा परी ज्यान गुमाउनेहरुमध्ये झण्डै ९८ प्रतिशतको घर भत्किंदा चेपिएर ज्यान गएको बताए।
“७.८ रिक्टर स्केलको भूकम्पका कारण झण्डै नौ हजार जनाको ज्यान गयो भने ३५,००० जति विद्यालय भवनहरु क्षतिग्रस्त भए। विद्यालय चलिरहेको बेला भूकम्प गएको भए झण्डै ३०,००० बालबालिका, शिक्षक शिक्षिका तथा कर्मचारीको ज्यान सक्थ्यो,” उहाँले भन्नुभयो।
नेपालमा भूकम्पको संभावना टरिनसकेको र अझै ठूलो भूकम्प आउने संभावना कायमै रहेकाले आवासीय घरहरु, विदयालय, पसल, कार्यालय आदिलाई बलियो र सुरक्षित बनाउन ढीला गर्न नहुने पनि उहाँले बताउनुभयो। एनसेटले सन्चालन गरेको विद्यालय भूकम्प सुरक्षा कार्यक्रमलाई अहिले दक्षिण एसियाका विभिन्न मुलुकहरुमा नमुनाको रुपमा अनुकरण गरिएको बताउँदै दीक्षितले भूकम्पको बेला सबलीकरण गरिएका सबै ३०० विद्यालयहरु सुरक्षित रहेको र तिनले स्थानीय समुदायलाई अस्थायी आश्रय उपलब्ध गराउनुका साथै उद्धार कार्यकालागि समन्वय केन्द्रको रुपमा पनि काम गरेको बताउनुभयो। “तर अरु हजारौं विद्यालयहरुलाई भूकम्प प्रतिरोधी बनाउने चुनौती हाम्रा सामु छ जसकालागि स्थानीय समुदाय, सरकार र दातृसंस्थाहरुले हातेमालो गर्नुपर्छ,” उहाँले भन्नुभयो।
सोही अवसरमा बोल्दै एनसेटकी प्रशासकीय प्रमुख निभा उप्रेतीले भूकम्पपछि सही पीडितको पहिचान गर्न र तथ्याङ्क संकलन गर्ने काम निकै चुनौतीपूर्ण भएको र त्यसमै बढी समय लागेको बताउनुभयो। उहाँले भूकम्पले जमीनको बनावटमात्रै होइन, समाज, जनसंख्या, अर्थनीति र संस्कृति समेत बदलिदिएको बताउँदै यसले चुनौती मात्रै हैन, अवसर पनि उपलब्ध गराएको धारणा राख्नुखभयो।
डा. दीक्षितको प्रस्तुतिमाथि टिप्पणी गर्दै सोसाइटी अफ नेप्लीज इन्जीनियर्स युकेका अध्यक्ष घनश्याम पौडेलले भूकम्पलाई प्राविधिक दृष्टिकोणले मात्रै नहेरेर व्यापक सामाजिक, सांस्कृतिक परिप्रेक्षमा यसको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले भूकम्पबाट जोगिन नेपालले गरिरहेको अभ्यास दक्षिण एसिया र अन्य मुलुकहरुकालागि पनि एउटा उदाहरण बनेको बताउँदै कामको सिलसिलामा बुर्किना फासो, माली, गिनी जस्ता अफ्रिकी मुलुकहरु घुम्दा त्यहाँको तुलनामा नेपाली समाज र संस्थाहरु निकै सृद्ढ र जीवन्त रहेको आफुले पाएको बताउनुभयो।
अर्का टिप्पणीकार डा. विनोदलाल अमात्यले भूकम्प पछि काठमाडौं उपत्यकामा आफुले एउटा सर्वेक्षण गरेको र त्यसमा आवासीय भवनहरुलाई विद्यालयको रुपमा प्रयोग गरिएको पाएको जनाउनुभयो। यसले जोखिम निकै बढाएको बताउँदै उनले विद्यालय भवन संचालन गर्न बनाइएका मापदण्डहरुलाई कडाइका साथ लागू गरिनु पर्ने सुझाव पनि दिनुभयो।
इन्स्टिच्युट अफ एडुकेशनका वरिष्ठ लेक्चरर तथा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेका अध्यक्ष डा. तेजेन्द्र फेरालीले नेपालमा झण्डै ८०,००० विद्यालय भवनहरु जोखिमपूर्ण अवस्थामा रहेको जानकारी चिन्ताको विषय भएको बताउनुभयो। उहाँले विद्यालयहरुलाई बहुसांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने र जोखिम न्यूनीकरणको विषयलाई पाठ्यक्रममै समावेश गरेर उपलब्ध ज्ञान र अनुभवलाई जनसमुदायसम्म पुराउन आवश्यक रहेको जनाउनुभयो। उहाँले अन्तरकृया कार्यक्रम आयोजना गर्न सघाउने सोसाइटी अफ नेप्लीज इन्जीनियर्स युके लगायत सबैलाई धन्यवाद पनि दिनुभयो।
कार्यक्रममा ब्रिटेनस्थित प्राज्ञ, पेशाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। आफ्नी सहकर्मी निभा उप्रेती सहित हाल ब्रिटेनको भ्रमणमा रहेका डा. दीक्षितले ब्रिस्टल विश्वविद्यालय तथा डर्हम विश्वविद्यालयमा पनि नेपालमा भूकम्प पछिको स्थिति र प्राप्त अनुभवहरुबारे प्रस्तुति दिनुहुनेछ ।