७ बैशाख २०८१, शुक्रबार
Follow Us

घलेद्धारा आफ्नो ४ वर्षे कार्यकाल असफल भएको स्वीकार

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७४, आईतवार १८:५७

गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले आफूले सुधारका लागि गरेका सवै कोशिसहरु आन्तरिक कारणले सफल हुन नसकेको बताएका छन् । दुई कार्यकालको पदावधि सकिनु भन्दा एक महिना अघि अमेरिकामा आयोजित एनआरएनको कार्यक्रममा घलेले आफ्नो कार्यकालको संक्षिप्त समिक्षा गर्दै एनआरएनए कार्यसमिति भित्र केही समस्या रहेको संकेत गरेका हुन् । तर, उनले कसले र किन काम गर्न दिएनन भन्ने खुलाएनन् ।

संस्थाको आफ्नै भवन निर्माण, समायानुकुल संरचना परिवर्तन र संस्थालाई स्रोत सम्पन्न बनाउने सन्दर्भमा केही ठोस प्रगति हासिल भएपनि धेरै काम गर्न नसकेको खुलाए । उनले विभिन्न फोरममा भनिसकेको धारणा ब्यक्त गर्दै भने, ‘गैरआवासीय नेपाली संघ आगामी १०-१५ बर्षमा नेपालीमुलका नेपालीहरुको राष्ट्रसंघजस्तो संस्था बनेको देख्न चाहन्छु ।’

अमेरिकाको एनआरएनएमा चुनिएकाहरुको पदबहाली तथा साधारण सभाको कार्यक्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् । निर्वाचनमा जितहार निश्चित रहेको बताउँदै उनले तर, संस्थाको आन्तरिक प्रजातन्त्र र प्रतिस्पर्धालाई स्विकार गरेर पेश भएको धारणाले गैरआवासीय नेपाल संघ र अमेरिकामा रहेका नेपाली समुदायको जीत भएको बताए । गैर आवासीय नेपाली संघको विश्व सम्मेलनको निकै नजिक आइसकेको भन्दै उनले विश्वभरी छरिएका सवै एनसीसीहरुमा नयाँ नेतृत्व निर्वाचित हुने प्रकृया धमाधम चलिरहेको बताए ।

आजभन्दा १४ बर्षअगाडि नेपालीका लागि नेपाली भन्ने नाराका साथ यो संस्था सुरु भएपनि लामो समयसम्म संस्था संगठित स्वरुपमा आउन नसकेको बताए । संस्था स्थापनाको एक दशक पुगिसक्दा पनि हामीले यो भर्चुअल अभियानलाई रियल संस्थामा रुपान्तरण गर्न नसकेको उनले बताए । ‘एनआरएनएप्रति जति धेरै आशा र विश्वास बढिरहेको छ, यस अनुसार हाम्रो क्षमता र संरचना नबन्नु अहिलेको तितो यथार्थ हो । त्यसैले यो सपना मेरोमात्र हैन सम्पूर्ण एनआरएनएको हो र विश्वभरका नेपालीहरुको साझा सपना हो । यही साझा सपनाको कार्यान्वयनको शुरुवात आगामी विश्वसम्मेलन मार्फत हुने छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

एनआरएनएमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनुभन्दा एक महिना अघि अमेरिकामा भएको साधारण सभामा निर्वाचन रणनीति हावी भएको थियो । उक्त सभामा भाग लिन घले दम्पत्ती लगायत उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी, महिला संयोजक सपिला राजराजभण्डारीपनि सहभागी थिए । पन्त पनि अध्यक्ष पदका आकांक्षी हुन् । एनआरएनएको नेतृत्वका लागि जापानका व्यवसायी भवन भट्टले काठमाडौंमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीले नेपालीहरु विदेशमा एक हुन नसकेकोमा दु:ख ब्यक्त गर्दै भने, तपाईहरुको इमेज विग्रदै गएको सुन्न चाहदैनौ । एकले अर्कोलाई सम्मान गर्न नसकेको बताए । अमेरिको सिनेट, कांग्रेस र स्टेड डिपार्टमा नेपालीको नाम लिदा खुशी ब्यक्त हुन्छ । तर त्यो हामी आफू आफूमा मिलेर अघि बढ्न सकेका छैनौ भन्दै यसमा गैरआवासिय नेपालीले गर्न नसकेको पनि बताए । उनले नेपालीलाई माया गरेर नै पहिलोपटक ठूलो सहयोग नेपालीलाई गरेको समेत सुनाउदै नेपालीलाई हस्ताक्षरको लागि प्रत्यक्ष सम्लग्न गराएको बताए ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले संस्थाहरुमा कमि कमजोरी रहेको भए पनि बलियो रुपमा यसलाई अघि बढाउने बताए । कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष पराजित रविना थापाले निर्वाचनमा ब्यापक अनियमितता भएको हुँदा यसलाई अस्विकार गरिएको बताइन् । उनले अमेरिकी अदालतमा मुद्दा दायर गर्ने समेत बताइन् । मतदातामा नामावलीमा समेत नक्कली नाम समेत राखेको दावी उनको छ । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुमार पन्त, महासचिव बद्रि केसी लगायतले आफ्नो धारणा राखेका थिए ।
– Ekantipur