८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदीप पौडेल भन्छन्- ‘सत्य तथ्य बुझेर लेख्नुहोला !’

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार १४:३८

खासमा म स्थानीय निर्वाचनको प्रचारको क्रममा प्रदेश नं. २ मा थिएँ । त्यसैले सप्तरीबाट विराटनगर र विराटनगरबाट काठमाडौं आएर सीधै जापानतर्फ उडेको हुँ । हामै्र नेता र संसद् सदस्य धनराज गुरुङसँग पनि मेरो भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । हङकङ ट्रान्जिट थियो, त्यहाँ पत्रकार मित्र अनिल न्यौपानेसँग भेट भएको हो । जापानमा कार्यक्रमको आयोजक कुनै व्यावसायिक समूह होइन, नेपाली जनसम्पर्क समिति हो । कांग्रेसको भ्रातृ संगठनले आयोजना गरेको औपचारिक कार्यक्रममा भाग लिन हामी दुई नेता गएका हौँ ।

टोकियोस्थित हामदा विमानस्थलमा उत्रिएपछि हामी अध्यागमनको लाइनमा थियौँ । म लाइनको पछिल्लो पंक्तिमा थिएँ । तर, धनराजजी र अनिलजी अगाडि नै हुनुहुन्थ्यो । नेपाली पासपोर्ट देख्नासाथ उहाँहरूलाई अध्यागमनले सोधपुछका लागि भित्र लगेछ । एकछिनपछि मलाई पनि भित्र लगियो । तिमीहरू को हौ ? यहाँ किन आएको भनेर हाम्रो अन्तर्वार्ता लिने काम भयो । हामीले धनराजजी नेपालको संसद्को सदस्य हो भनेर परिचय गरायौँ । त्यसपछि अध्यागमनले उहालाई जान दियो । त्यसपछि हाम्रो अन्तर्वार्ता लिन थाल्यो । तिमीहरूको स्पोन्सर को हो भन्ने उनीहरूको प्रश्न थियो । ‘नेपाली जनसम्पर्क समितिका अध्यक्ष धिरेन्द्र गिरी,’ हाम्रो स्वाभाविक जवाफ थियो । उनीहरूले हो कि होइन भनेर बुझ्न खोजे । तर, फोन गर्दा थाहा भयो– आयोजक त नेपालमा रहेछन् । उनी नेपालमा छन् भन्ने हामीलाई पनि थाहा थिएन । त्यसैले नेपालको नम्बर हामीले पनि लगेका थिएनौँ । त्यसपछि स्थिति जटिल बन्यो । तिमीहरूसँग जापानमा घुम्न कति पैसा छ भनेर उनीहरूले सोधे । साथीभाइहरूले सम्मान र मायाले बोलाएको कार्यक्रममा जान मनग्गे पैसा बोकेर जाने कुरा पनि भएन । त्यसैले हामीसँग त्यति धेरै पैसा छैन भन्ने जानकारी पनि दियौँ । तिमीहरूसँग जति पैसा छ, त्यसले जापानमा खान–बस्न पुग्दैन भनेर उनीहरूले स्पष्ट भने ।

मुख्य प्रश्न उनीहरूले फेरि पनि प्रायोजककै विषयमा सोधे । जब तिमीहरूको प्रायोजक नै जापानमा छैन भने तिमीहरू कोसँग घुम्छौ, कोसँग डुल्छौ, के खान्छौ र कहाँ सुत्छौ भनेर उनीहरूले प्रश्न गरे । अध्यागमनका कर्मचारीहरूले हामीसँग सम्मानजनक व्यवहार गरे । खालि हामीलाई निम्ता गर्ने, स्वागत गर्ने, राख्ने, डुलाउने मुख्य मान्छे नै जापानमा छैन भनेपछि कसरी अघि जान दिने भनेर उनीहरूले प्रश्नमाथि प्रश्न गरिरहे । उनीहरूले हामीलाई फोन गर्न पनि दिए । गिरीजीको शिरिष पनि अध्यागमनबाहिर आएका रहेछन् । फोनमा उनीसँग पनि हाम्रो संवाद भयो । म बाहिर लिन आएको छु, सम्पूर्ण जिम्मेवारी म लिन्छु भनेर उनले भने । तर, हामीलाई निम्ता गर्ने कागजमा उनको नाम थिएन । त्यसैले उनको अनुरोधलाई अध्यागमनका अधिकारीले स्वीकार गरेनन् । उनीहरूको एक मात्र भनाइ थियो, तिमीहरूलाई निम्ता गर्ने मान्छे जापानमा भएको भए विषय सबै सहज थियो । तर, जब तिमीहरूलाई जसले बोलाएको हो, ऊ नै जापानमा छैन भने तिमीहरूलाई अरूले ध्यान दिन्छन् भनेर हामीले कसरी मान्न सक्छौँ भनेर उनीहरूले गम्भीर प्रश्न गरे । त्यसको जवाफमा हामीले जिद्दी गरिरहन मिल्ने ठाउँ पनि थिएन । त्यसपछि मैले स्पष्टसँग भनेँ, ‘त्यो पनि एउटा गम्भीर प्रश्न हो, यो विषयलाई अनावश्यक लम्ब्याउनुको सट्टा हामी आफ्नो देश जान तयार छौँ ।

त्यसका लागि प्रबन्ध गरिदेऊ ।’ नेपालमा जे–जति हल्ला भए पनि मसँग पत्रकार अनिल न्यौपानेबाहेक अरू कोही पनि थिएन । हामी हङकङमा भेटिएका हौँ, एउटै नियतिको भागीदार भयौँ । जापानी अध्यागमनका कर्मचारीले अंग्रेजी नबुझ्ने, हामीले जापानी नबुझ्ने भएकाले बडो अप्ठ्यारोसँग संवाद भयो । तैपनि अंग्रेजी अनुवादकको सहायताले हामीले सबै प्रश्नको जवाफ दिने कोसिस गर्यौँ । उनीहरूले हामीलाई सम्मानजनक व्यवहार गरे । आफ्नो देशभित्र आइरहेको कुनै पनि विदेशीले के गर्छ ? कहाँ बस्छ ? कोसँग सम्पर्क गर्छ भनेर जानकारी राख्न पाउने हरेक देशको सार्वभौम अधिकार हो । जापानी अध्यागमनका अधिकारीहरूले पनि त्यही जिम्मेवारी पूरा गरेका हुन् । हामीसँग उनीहरूको जम्माजम्मी दुई घन्टा सवाल–जवाफ भएको हो । त्यसपछि हामी नेपाल फर्कने तयारी सुरु भइहाल्यो । उनीहरूसँग हाम्रो समझदारी भयो । त्यसपछि उनीहरूले नेपाल फर्कने जहाजको व्यवस्था गर्न थाले । तर, तत्काल जहाजको व्यवस्था हुन सकेन । हङकङमा १२ घन्टा ट्रान्जिट हुने गरी जहाजको व्यवस्था भयो र हामी नेपाल आयौँ । त्यसबीचमा लौ न जसरी पनि जापान छिर्ने वातावरण बनाइदिनुप-यो भनेर नेपालमा मैले कसैलाई पनि सम्पर्क गरेको छैन । जब आफ्नै प्रायोजक नै छैन भने अर्काको देशमा किन गलफत्ती गर्नु भनेर खुरुखुरु नेपाल फर्कन हामी तयार भएका हौँ । नेपाली दाजुभाइहरूसँग भेटघाट गरौँ भनेर जापान जान खोजेको हो, फर्किएर पनि नेपाली दाजुभाइसँगै भेटघाट भएको हो ।

यो त्यति अनौठो विषय पनि होइन । हरियो पासपोर्ट बोकेको दशौँ हजार नेपालीले विश्वका कुनाकुनामा हरेक दिन यस्तो नियति भोग्नुपर्छ । मैले एक दिन भोग्नुप-यो भन्दैमा अनौठो मान्नुपर्ने विषय केही छैन । महत्वपूर्ण विषय के हो भने नेपाली पासपोर्टको इज्जत बढाउन हामीले आफ्नै देशलाई समृद्ध बनाउन आवश्यक छ । त्यसका लागि एक–अर्कालाई अपमान गरेर होइन, सबै मिलेर राष्ट्र निर्माणको सकारात्मक अभियानमा लाग्नुपर्छ । अन्तमा पौडेलले कुनै पनि टिक्का टिप्पणीको पछि नलागी सत्य र तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

21752472_1234376946673910_5289763723710651692_n