१२ बैशाख २०८१, बुधबार
Follow Us

७३ प्रतिशत मतदान

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार १४:४४

काठमाडौँ । प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसी बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भएका छन् ।

प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन् ।