१३ बैशाख २०८१, बिहीबार
Follow Us

अर्जुन श्रेष्ठले एनआरएनए महासचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार १८:१६

लण्डन । गैरआवासीय नेपाली संघको महासचिवमा अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । संघको वर्तमान सचिव रहेका श्रेष्ठले सोमवार एक विज्ञप्ति जारी गर्दै अक्टोवर महिनाको दोस्रो साता काठमाण्डौंमा हुने विश्वसम्मेलन उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनको विज्ञप्ति जस्ताको तस्तै

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ ।
आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु । उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ ।
नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ । डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।
गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु,
स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।
संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदीक्षा रहने अपेक्षा गर्दछु ।
अर्जुनकुमार श्रेष्ठ
महासचिव पदको उम्मेदवार
हाल: सचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
मिति: १८ सेप्टेम्बर, २०१७