८ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस अग्रस्थानमा, पछ्याउँदै एमाले

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार ०८:०८

काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु भएको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । प्रारम्भिक मतगणनामा ६ दलबीच प्रतिस्पर्धा देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार काँग्रेसले ११ स्थानीय तहमा एमालेले १० तहमा अग्रता लिएको छ ।
माओवादी केन्द्रले १० तहमा अग्रता लिएको छ भने भने राजपाले ९ तहमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले ९ तहमा अग्रता लिइरहेको छ ।

कसको अग्रता कहाँ ?
मतगणना जारी भएका स्थानीय तहमध्ये रौतहटको गौर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । रौतहटकै माधवनारायण नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । सप्तरीको खड्ग नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
सिरहाका कर्जन्हामा एमालेका उम्मेदवार अगाडि छन् भने सिरहाकै मिर्चैयामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राजपाले अग्रता लिएको छ ।
बाराको फेटा र बारागढी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । सिरहाको कल्याणपुरमा पनि नेपाली कांग्रेस नै देखिएको छ ।
महोत्तरीको बर्दिवासमा पनि कांग्रेसका उम्मेदवार अगाडि छन् । महोत्तरीको कल्याणपुर र सिस्वा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले अग्रता लिएका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिकामा नेकपा एमाले अगाडि छ भने सप्तरीको सप्तकोसी नगरपालिकामा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
बाराको देवतालमा नेकपा माओवादी केन्द्र अगाडिका उम्मेदवार अगाडि छन् भने धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि माओवादी केन्द्र नै अगाडि छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिएका छन् । सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेदवार अगाडि छन् । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।