१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अध्यक्षमा भवन भट्टलाई कुमार पन्तले सघाउने

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार १०:५४

चिरन शर्मा । लन्डन । गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने विश्व सम्मेलनमा अध्यक्षका आकांक्षी द्वय भवन भट्ट र कुमार पन्त मिलेर अगाडि बढ्न सहमत भएका छन् ।

अगष्ट महिनामा काठमाण्डौंमा भएको बैठकपछि दुबैजना संघभित्र मिलेर काम गर्न सहमत भएका हुन् ।

यसअघि दुबै जनाले संघको अगामी विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

पछिल्लो सहमति अनुरुप भट्टले अगामी कार्यकालको नेतृत्व लिने छन् भने पन्तले वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गर्ने छन् । सहमतिअनुसार भट्टले अगामी एक कार्यकालपछि पन्तलाई अध्यक्षका लागि मार्ग प्रशस्त गरिदिनुपर्ने छ ।

संघको बृहत हितको लागि नयाँ नेतृत्व सर्वसम्मतले चयन होस् भन्ने उद्देश्यले संस्थापकहरुको समेत आग्रहमा आफूले अध्यक्ष पदमा भट्टलाई सघाउने निष्कर्षमा पुगेको पन्तले बताए ।

उनले गैरआवासीय नेपाली संघको अभियान निरन्तर गइरहने अभियान भएकाले अहिले नै नेतृत्व लिइ हाल्नु पर्छ भन्ने अहंम आफूमा नभएको बताउदै यसपछिको नेतृत्वमा आफूले उम्मेदवारी दिने संकेत गरे ।

विश्व सम्मेलन नजिकिदै गर्दा विश्वभर रहेका गैरआवासीय नेपाली संघका अभियान्ताले विभिन्न पदमा आफूले उम्मेदवारी दिने घोषणा गर्न थालेका छन् । वर्तमान अध्यक्ष शेष घलेकी श्रीमति जमुना गुरुङको नामसमेत अध्यक्षको प्रत्यासीका रुपमा चर्चामा आएको छ ।

गुरुङ निकटले दिएको जानकारीअनुसार परिस्थिति हेरेर जमुनाले अध्यक्ष वा उपाध्यक्षमध्ये एउटा पदमा उम्मेदवारी दिन सक्ने छिन् । अध्यक्ष घलेको ४ बर्षे कार्यकाल सकिनै लाग्दा नेतृत्व आफ्नी श्रीमतिलाई हस्तान्तरण गर्न खोज्नुलाई कतिपयले उचित ठानेका छैनन् । अध्यक्ष घलेद्धारा संघको संरचनामा व्यापक परिवर्तनका लागि अघि सारिएको भिजन २०२० एण्ड बियोण्डको आडमा श्रीमति गुरुङलाई नेतृत्व सुम्पने प्रपन्च बुनेको आरोप छ ।

अहिलेसम्म उपाध्यक्षमा कुल आचार्य, कुमार पन्त, डा. बद्री केसी, चिरञ्जीवी थापा, सोनाम लामा, पुष्प थापाको नाम चर्चामा छ ।

महासचिवमा त्रिलोक गुरुङ, हिकमत थापा, अर्जुन श्रेष्ठको नाम चर्चामा छ । यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रञ्जु थापाको नाम चर्चामा छ । कोषाध्यक्षमा मुछेत्र गुरुङले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सहकोषाध्यक्षमा सोम सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।