१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली सञ्चारकर्मी ब्रिटेनको संसदमा

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७४, बुधबार ०८:३५

बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए । उनीहरुले करिब डेढ घण्टा लामो भ्रमणमा तल्लो सदन ‘हाउस अफ कमन्स’ र उपल्लो सदन ‘हाउस अफ लर्डस’को भ्रमण गरी ती निकाय कसरी सञ्चालन हुन्छन् भन्नेबारे जानकारी लिएका थिए ।

सञ्चारकर्मीलाई बेलायतको संसदीय व्यवस्था, तत्कालिन समयमा सदन र राजसंस्थाबीचको द्वन्द्व, भवनका विशेषता आदिबारे जानकारी दिइएको थियो ।

संवैधानिक प्रजातन्त्रको जननी पनि भनिने ब्रिटिश संसद झण्डै ९०० वर्ष पुरानो भएको मानिन्छ । तत्कालिन राजा जोनलाई स्वेच्छाचारी हुन नदिने र राजा र उनको सरकार कानुनभन्दा माथि नरहेको भन्ने सम्झौता म्याग्नाकार्टामा हस्ताक्षर गरेको पनि ८०० वर्ष पुरा भइसकेको छ ।

राष्ट्राध्यक्षलाई कुनै कार्यकारी अधिकार नरहेकाले ब्रिटेनको राजसंस्थाले कुनै गल्ती गर्दैन भन्ने भनाइ पनि प्रसिद्ध छ ।

ब्रिटेनमा लिखित संविधान छैन, तर राज्यका विभिन्न अंगबीच शक्ति पृथकीकरण, कानुनी शासनको सर्वोच्चता तथा स्वतन्त्र न्यायालयजस्ता प्रावधानका कारण ब्रिटेनको संवैधानिक प्रणाली संसारमै अनुकरणीय मानिन्छ ।

नेपालको २०१५ र २०४७ सालको संविधान ब्रिटेनको संसदीय प्रणालीबाट प्रभावित भएको जानकारहरु बताउँछन् ।

बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माको पहल र शाखा अध्यक्ष नरेश खपांगीमगरको नेतृत्वमा भ्रमण भएको थियो । अध्यक्ष खपांगीमगरले संसद भवन अवलोकन उपलब्धिमुलक र ज्ञानवद्र्धक रहेको बताए । उनले शाखाले पत्रकारहरुको क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकतामा राखेको पनि उल्लेख गरे । भ्रमणको संयोजन शाखा सल्लाहकार नवीन पोखरेलले गरेका थिए ।