१३ बैशाख २०८१, बिहीबार
Follow Us

गलत औषधिले मृत्यु भएको पीडितको दाबी

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७४, शुक्रबार ०५:१५

दमक । छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मृतक मगर बस काउन्टर, दमकका कर्मचारी हुन् ।

औषधि गर्न अस्पताल गएका मगरको अस्पतालका स्वास्थ्यकर्मीले औषधि दिएको केहीबेरमा मृत्यु भएको पीडित परिवारले जनाएका छन् ।
चिकित्सकका कारणले नै बिरामीको मृत्यु भएको उजुुरी दिँदै पीडितका आफन्त प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका कारण दिनभरि अस्पतालका सबै सेवा प्रभावित बन्न पुगेको थियो । मगरका आफन्त तथा परिवारले अस्पतालका कारण बिरामीको अकालमै मृत्यु भएको पीडितको उजुरीमा उल्लेख छ ।
मृतकका भाइ–बुहारी मञ्जु राईले अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गरेकाले बिरामीको ज्यान गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई न्याय दिनुपर्छ, गल्ती गर्नेलाई कारबाही हुनुपर्छ ।”

एड्भान्स रिसर्च सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष सुवेदीले अस्पतालका स्वास्थ्यकर्मीका कारण बिरामीको मृत्यु नभएको दाबी गर्नुहुन्छ । बिरामीलाई औषधि दिएका कारण त्यस्तो भएको होइन, मुटुको समस्याले बिरामीको मृत्यु भएको उहाँको भनाइ छ । मगरको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ ।

यसैबीच, बिरामीको मृत्यु प्रकरणमा अस्पतालबाट गल्ती भएको भेटिए कानूनअनुसार कारबाही गर्ने र क्षतिपूर्ति दिने सहमति भएको छ । सहमति भएअनुसार पीडितलाई राहत दिलाउन दुई छोरीको उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्ने तथा मृतकको स्मृतिमा ट्रष्ट खोल्ने सहमति भएको छ ।

जमेको पानीमा डुबेर मृत्यु

यसैबीच, जमेको पानीमा डुबेर दमक नगरपालिका वडा नं १० का एक बालकको बिहीबार साँझ ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार यसरी ज्यान जानेमा दमक–१० का बेदप्रसाद अधिकारीका १२ वर्षीय छोरा शौरभ अधिकारी रहेका छन् ।

घाँस बोकेर घर आउँदै गर्दा पानी जमेको खेतमा डुबेर उनी गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि स्थानीय अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।