८ बैशाख २०८१, शनिबार
Follow Us

मलद्वार नभएका बालकलाई आमाबुबाले छाडेपछि …

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७४, शुक्रबार ११:४२

कञ्चनपुर । मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ ।
नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२ दिनमै ओछ्यानमै सुतेको अवस्थामा छाडी परपुरुषसँग भागेपछि हजुरआमा बुबाको जिम्मामा उनी छन् । नरेन्द्र हाल १० महिनाका भए तर उनको जन्मदादेखि नै मलद्वार नहुँदा बायाँ पेट चिरेर वैकल्पिक मलद्वार बनाइएको छ ।
गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मेको २४ घण्टापछि मात्रै उनको मलद्वार बन्द भएको परिवारजनले थाहा पाएका थिए । बान्ता गर्न थालेपछि उनलाई भारतीय सहरको अस्पतालमा लगेर जाँच गर्दा मलद्वार नभएको थाहा पाएको बाजे मोहनलाल सुनारले बताउनुभयो । मलद्वार नहँुदा उपचार गराउनका लागि नरेन्द्रका बाजेबज्यैले भएको जायजेथा बेचेर रु दुई लाख बढी खर्च गरिसकेका छन् ।
अझै भारतको बरेलीस्थित एक अस्पतालले तीन लाख भारतीय रुपैयाँ खर्च आउने भनेपछि खर्च जुटाउन नसक्दा अप्ठेरोमा परेको छु मोहनले भन्नुभयो “नरेन्द्रलाई बचाउन भएभरको जग्गाजमिन पनि गयो । अब कसरी औषधि गर्ने हो भन्ने चिन्ताले सताएको छ ।” आर्थिक अवस्था निकै नाजुक भएकाले सहयोगी हातको खोजीमा रहेको उहाँले बताउनुभयो ।
बालकको भविष्यलाई लिएर उनका बाजेबाज्यै चिन्तित भएका छन् । महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले समेत बालकको शल्यक्रियाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।