१६ चैत्र २०८०, शुक्रबार
Follow Us

को बन्ला एनआरएन युरोप क्षेत्रीय संयोजक?

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार १८:५९

चिरन शर्मा ।

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न ग्लोबल अधिवेशन नजिक आउँदै गर्दा युरोपका गैरआवासीय नेपालीलाई निर्वचनको चटारो सुरु भएको छ। रणनीतिक रुपमा निकै महत्वको मानिने युरोप संयोजकको एक पदमा ६ जना आकांक्षी देखिएका छन्। एनआरएनको युरोप क्षेत्र केन्द्रलाई प्रभावित पार्न सक्ने एवं लगानी क्षमताका दृष्टिले सबैभन्दा शक्तिशाली मानिन्छ। यो पटकको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले सबैभन्दा पहिला आफ्नो दाबी प्रस्तुत गरेका थिए।

अध्यक्षमा भवन भट्टले उम्मेदवारी घोषणा गरेको भोलिपल्ट उनले आफ्नो उम्मेदवारी घोषणा गरे। उनले गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष र संघको केन्द्रिय सल्लाहाकार भएर काम गरिसकेका छन्। उनी वेलायतमा ड्राइभिङ स्कुल सञ्चालन गर्छन्। संघको स्थापनाका लागि एनआरएन अभियानमा आवद्ध सेनसँग वेलायतको विभिन्न संघसँस्थामा रहेर काम गरेको अनुभव समेत छ। एनआरएनएको स्किल, नलेज एन्ड इनोभेसन टास्कफोर्समा रहेर काम गरिरहेका उनी भन्छन्, ‘यो क्षेत्रमा लामो समयदेखि लागिरहेको कारणले समयमै घोषणा गरेको हुँ। एनआरएनमा जात र राजनीतिको विभाजनलाई चिर्न मेरो उम्मेवादवारी हो।’ दुई वर्षअघिको सम्मेलनमा युरोप संयोजकका पराजित उम्मेदवार उनी त्यतिबेला होमवर्क नपुगेको तर अहिले साथीभाइसँग सल्लाह गरेर चुनाबी दौडमा होमिएको बताउँछन्।

युरोप संयोजकका अर्का आकांक्षी मेडिकल डक्टर विनय श्रेष्ठ हुन्। स्वीजरल्याण्ड ज्युरिख निवासी उनले एनआरएनएमा बौद्धिक नेतृत्वको आवश्यकता पूर्तिका लागि भन्दै आफ्नो उम्मेदवारी घोषणा छन्। हाल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका सदस्य रहेका उनी संगठन समुदायका कामका लागि सधैँ तत्पर रहने व्यक्तित्वमा पर्छन्। आइसीसी सदस्यको रुपमा उनी पछिल्लो समय युरोपका एनसीसीहरूको निर्वाचन गराउन समेत खटेका थिए। उनले यसअघि गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका संस्थापक उपाध्यक्ष एवं पूर्वअध्यक्षसमेत रहिसकेका छन्। ‘मैले एनसीसी तदर्थ समितिदेखि काम गर्दै आइरहेको छु। युरोप संयोजकमा मेरो उम्मेदवारी सबैभन्दा स्वभाविक हो। साथीभाइहरुसँग सरसल्लाह गरेर म अघि बढेकाले जित्छु भन्ने छ’, उनले भने।

युरोपको नेपाली समुदाय मुख्यतः जातीगत र राजनीतिक रुपमा विभाजित छ। निश्चय पनि पैसा खर्चको पाटोबाहेक एनआरएन निर्वाचनको मुख्य निर्णायक पक्ष पनि यही नै रहनेछ। यी दुई पक्षको सन्तुलन मिलाउन सक्नेले युरोपको संयोजक पद जित्ने देखिन्छ।
युरोपका प्रबासी नेपालीहरूको पेशागत, शैक्षिक, अर्थिक एवं सामाजिक क्षमता विकास आफ्नो मुद्दा भएको डा.विनयको भनाइ छ। यसलाई कार्यान्वयन गर्न एनसीसीहरूसँग छलफल गरी एक कार्यनीति तय गर्ने र त्यसलाइ कार्यान्वयन गर्ने लक्ष्य उनको छ।

बीस वर्षदेखि जर्मनीमा बस्दै आएका दावा जी शेर्पा युरोप क्षेत्रको संयोजकका बलिया प्रत्यासी हुन्। एनआरएन आइसीसी सदस्य रहिसकेका उनी हालका युरोप क्षेत्र उपसंयोजक पनि हुन्। एनआरएनको सामाजिक कार्य तथा मानवीय कार्यसमितिमा समेत रहेर जिम्मेवारी निर्वाह गरिसकेका उनी जर्मनीको नेपाली समुदायमा इमान्दार र लगनशील व्यक्तिका रुपमा चिनिन्छन्। भन्छन्, ‘एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझा एनआरएनमैत्री बातावरण बनाउन मेरो उम्मेदवारी हो।’ जर्मनीमा होटल र पर्यटन व्यवसायमा संलग्न दावा नेपालीहरुको पहिचानलाई एकीकृत बनाउन आफ्नो उम्मेदवारी भएको बताउँछन्। युरोपमा बस्ने नेपालीहरुको सामुहिक लगानीलाई अघि बढाउने उनको मुख्य लक्ष्य रहेको छ। ‘गैर–आवासीय नेपाली संघमा मेरो लामो अनुभवका कारण मैले यस अभियानको चुनौती र अवसरहरुलाई निकटबाट बुझेको छु। ती चुनौति र अवसरहरुको ब्यवस्थापन गर्न युरोप संयोजकमा उम्मेदवारी दिएको हुँ’, उनी भन्छन्।

एनआरएन बेल्जियमका पूर्व अध्यक्ष एवं वर्तमान युरोप क्षेत्र उपसंयोजक प्रेम गुरुङ पनि युरोप संयोजकका दावेदार हुन्। २०१३—२०१५ एनआरएन बेल्जियमको अध्यक्षको भूमिका निर्वाह गरेका उनी त्यसपछि युरोप उपसंयोजकको जिम्मेवारीमा छन् । आफूमा भएको ज्ञान सीप र क्षमतालाई नेपाल र नेपालीको हितमा काम गर्न उम्मेदवारी दिएको उनको भनाइ छ।

यस्तै एनआरएन बेल्जियमको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका गंगाधार गौतम पनि युरोप संयोजकका आकांक्षीको रुपमा देखिएका छन्। २५ वर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेका उनी बेल्जियम एनआरएनका पूर्व अध्यक्ष हुन्। यूरोपस्थित नेपाली जनसम्पर्क समितिको महासचिव रहेका उनी सन् २००० देखि वेल्जियमा वसोबास गर्दै आएका छन्। उनी संगठन सञ्चालनको विधि र प्रक्रियामा अनुभवी मानिन्छन्।

गैरआवासी नेपाली संघ होल्याण्डका संरक्षक हरि पौडेलले पनि युरोप क्षेत्र संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले यसअघि गैरआवासीय नेपाली संघ होल्याण्डको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

संघको आठौं अधिवेशन अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। गैरआवासीय नेपाली संघभित्र युरोप क्षेत्रको वर्चश्व कायम गर्न केही दिनयता समूहगत रुपमा ठाउँ ठाउँमा गोप्य बैठकहरु भइरहेका छन्। युरोप क्षेत्रको संयोजक इतिहास हेर्ने हो भने युकेको वर्चश्व रहँदै अएको देखिन्छ। तर यो पटक बेल्जियम र जर्मनीबाट सशक्त उम्मेदवारहरु देखिएका कारण यसै हुन्छ भनेर भन्न सक्ने अवस्था छैन। हुन त अहिले धेरै आकांक्षी देखाए पनि उम्मेदवार दर्ता गर्ने दिनसम्म छाँटिने सम्भावना पनि उत्तिकै छ। युरोपको नेपाली समुदाय मुख्यतः जातीगत र राजनीतिक रुपमा विभाजित छ। निश्चय पनि पैसा खर्चको पाटोबाहेक एनआरएन निर्वाचनको मुख्य निर्णायक पक्ष पनि यही नै रहनेछ। यी दुई पक्षको सन्तुलन मिलाउन सक्नेले युरोपको संयोजक पद जित्नेछ।