१५ चैत्र २०८०, बिहीबार
Follow Us

जंगबहादुरको पहिरनमा बेलायती दंग

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार २०:५३

आजभन्दा १ सय ५९ वर्षअघि अर्थात् १९०६ साल माघमा (सन् १८५०) । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा २५ जनाको टोलीसहित बेलायत प्रस्थान गरेका थिए । विश्व साम्राज्य बेलायतसँगको सम्बन्ध विस्तार गर्न राजा सुरेन्द्रको विशेषदूत बनेर उनी बेलायत पुगेका थिए । जंगबहादुर झण्डै ३ महिना बेलायत बसे । जंगबहादुरको बेलायत बसाईको रोचक प्रसंग नेपाली जनजीवनमा किंबदन्तीका रुपमा जीवित छन् । त्यसलाई पुष्टी गर्ने केही आधार उनीसँगै बेलायत पुगेका भ्रमण टोलीका एक सदस्यले लेखेको यात्रा संस्मरण सुरक्षित छ । बेलायत सरकारले जंगबहादुरलाई उच्च सम्मान दिएको थियो । तत्कालीन समयका बेलायती अखबारहरुमा छापिएका समाचारले पनि यसलाई पुष्टी गर्छन् । जसरी नेपाली भ्रमण दलका सदस्यहरुका लागि बेलायत अनौठो थियो, त्यसरी नै नेपाली प्रतिनिधिमण्डलको लवाई, खुवाई र हिँडाई बेलायती समाजको लागि चासोको विषय बन्न पुग्यो ।

जंगबहादुरको पहिरनमा बेलायती दंग
पेनिन्सुलर याण्ड ओरियण्टल ष्टीम नेभिगेसन कम्पनीको कप्तान आर मोरेसबी, आई.एन. भएको जहाज ‘रिपन’ आज यहाँ आइपुग्यो । जहाजले, लेफ्टिनेण्ट टेनकक आर.एन. आडमिराल्टी एजेन्ट जिम्मामा पूर्वीय भारत, चीन र भूमध्यसागरतिरका डुङ्गुर चिठीपत्र ल्याएको छ ।

‘रिपन’ले १०० जना फस्र्ट क्लासका लगाएत जम्मा १६२ यात्रूहरु ल्याएको छ । यात्रूहरुमध्ये हुनुहुन्छ हिज हाइनेस जनरल जंगबहादर कूओर रानाजी,नेपालका तर्फबाट हजूर महारानीमा पठाइएका राजदुत ‘एक्ष्ट्र अर्डिनरी’ । नेपालका प्रधानमन्त्री तथा फौजका कमाण्डर–इन–चीफको महत्व । ओहदा बोकेका हिज हाइनेस (बेलाइतकी) महारानीलाई भेट्न भनी आफ्नो देशबाट यात्रा गरी आउनु भएको हो र उहाँले धेरैधेरै किसिमका मालसामानहरु हजूर महारानीलाई उपहार गर्न भनी ल्याउनु भएको छ । महारानीका सामु हाजिर हुने यति उच्च जातका हिन्दू उहाँ नै पहिला हुनुहुन्छ । हिज हाइनेसको सवारीसाथ आउनेमा उहाँका दुईजना भाइ कर्नेल जग्गत कर्नेल धीर शम्शेर जंग तथा २४ जना नोकरान छन् । साथै उहाँका सेक्रेटरी र दोभाषियाको काम गर्ने मि. म्याकलियोड र आयोगका राजनीतिक अफिसर क्याप्टेन क्याभानोग पनि छन् । महाराज ‘प्रिन्स’ जंगबहादुर पूर्वीय ढांचामा वहुमूल्य वेशभूषामा लैश हुनुहुन्छ ।

उहाँको श्रीपेच र पोशाकहरु सुन र चाँदीले ढाकिएका छन् र जुहारातले जगजगाएमान छन् । त्यसमा लागेका हीरा मोती र अरु जुहारत डेढलाख ष्टर्लिङ (ने. रु सैतीस लाख जति) मूल्यका होलान भन्छन् । काम गर्ने नोकर चाकरका विभिन्न प्रकारका सुदर्शन पहिरनले र हिज हाइनेसका अंगरक्षक माथिल्ला तहका अफिसरहरुका असाधारण र किम्मती पोशाकहरुले त्यहाँ सबैलाई खूब आकर्षण ग-यो । यसरी यस देशमा हत्तपत्त देख्न नपाईने किसिमको तमाशा,‘रिपन’ जहाजको डेकमा देखियो ।
२७ मे १८५० मा ‘द टाइम्स’ भन्ने लन्डनको अखबारमा छापिएको समाचार

खाने र पकाउने सामाग्री नेपालबाटै

द ओरियण्टल कम्पनीको, कप्तान मोरेसवी भएको ष्टीमर जहाज ‘रिपन’ थुप्रै हिन्दूस्तानी डाँक लिएर अलेक्जाण्ड्रिया, माल्टा र जिब्राल्टर हुँदै अस्ति शनिश्चरबार बिहान सात बजे साउथह्याम्टन आइपुग्यो ।

यात्रूहरुमध्ये हुनुहुन्थ्यो, तिब्बतका सीमानामा रहेको नेपाल राज्यका प्रधानमन्त्री तथा कमाण्डर इन–चीफ महामहिम जनरल जंगबहादुर कूर्मा रानाजी । उहाँका दलमा २४ जना छन् । जसमध्ये उहाँका भाइहरु कर्णेल जग्गत शम्शेर कूर्मा रानाजी, कर्णेल धीर शम्शेर कूर्मा रानाजी पनि छन् । यी जनरलका यस देशको यात्रा नेपालका राजाका तर्फबाट बेलाइत्की महारानीछेउ पठाइएका असामान्य राजदूतका हैसियतमा भएको छ र उहाँका जिम्मामा नेपालका राजाले हजूर महारानीलाई पठाएको अभिनन्दनको पत्र तथा धेरै दामी उपहार पनि छन् । यी उपहारमा नेपालमा पैदा हुने र उत्पादन हुने धेरै बहुमूल्य चीजबीजहरु छन् । यी उपहारहरुको मोल झण्डै झण्डै साढे दुई लाख पाउण्ड ष्टर्लिङ ( ने. रु बैसठ्ठी लाख जति) को छ भनिन्छ । राजदूतावासका साथमा महामहीमका सेक्रेटरी मिष्टर म्याकलियोड तथा नेपालमा रहेका पोलिटिकल एजेण्ट क्याप्टेन क्याभानोग पनि छन् । यस दूताबासले नेपाल छोडेदेखिको यात्राखर्च झण्डै दश हजार पाउण्ड ( ने.रु अढाई लाख ) पुगिसकेको छ ।

महामहीम र उहाँका मानिसहरु सबै बौद्धधर्माबलम्बी हुन र उनीहरुको धर्मसम्बन्धी, खानपानको, स्नानादि कर्मको, तथा आफ्नो खाद्य सामग्री तथा भांडावर्तन क्रिश्चियनहरुलाई छुन दिन नहुने इत्यादी कडा नियमहरुले गर्दा उनीहरुले रिपन जहाजको अगिल्तिरका कोठा र सेलुन बैठकहरु सबै नै लिन परेको थियो । त्यहाँ उनीहरुले एउटा भान्छाखण्ड तयार पारेका थिए । त्यो भान्छा, काठाका फल्याक तथा चकलाहरु मिलाएर एउटा ठूलो चारकुने बाकस कोठा जस्तो बनाएर त्यसमा बालुवार हिलो माटोले (पुरेको) लिपेको थियो । उनीहरुले आगोचाँही गोलको मात्र व्यवहार गर्थे । खाने कुरामा भने हाँस कुखुरा, खसी पाठा, फुल, चामल र तरकारी, यिनै मुख्य थिए । जहाज जहाँ जहाँ बन्दर्गाहमा अडिन्थ्यो त्यहाँ त्यहाँ उनीहरु आफूलाई चाहिने पानी आफैं बोकी ल्याउँथे । नेपालीहरुको अनुहार मंङ्गोलियन र हिन्दूहरुको मिश्रण जस्तो छ । दूतावासका धेरै जना निकै लायकका राम्रा र हँसिला व्यक्ति छन् र उनीहरुका पोशाकचाहिं बयान गरनसक्नु भड्किला छन् ।

जनरल बत्तीस वर्ष जतिका सुन्दर र सारै बुद्विमान मानिस हुनुहुन्छ । उहाँको रङ्ग निकै सावलो छ कपालचाहिं निखुर कालो र लामो छ । उहाँ यो देश टेक्ने पहिला उच्च जातिका हिन्दू हुनुहुन्छ । उहाँ भारतबर्षमा एक जना अग्रगण्य व्यक्ति मानिनुहुन्छ उत्तरी हिन्दोस्तानमा उहाँको प्रभाव र अधिकार अत्यन्त ठूलो छ । उहाँले इष्ट इन्डिया कंपनीलाई पनि ठूलो मद्दत दिनुभएको छ । भारतका गभर्नर जनरलले कलकत्तामा पूरा दरबारमा स्वागत गरेर, तथा आउँदा र जाँदा १९/१९ तोपको सलामी दिएर ठूलो प्रतिष्ठापूर्ण सन्मान गर्नुभएको थियो यति कम उमेरका भए तापनि उहाँ एक महान् तथा सफल योद्वा हुनुहुन्छ र चाँदमारीमा उहाँ आजसम्मका उत्कृष्टतम मध्येका एक हुनुहुन्छ । उहाँले, अलेक्जान्ड्रियाबाट हिंडेपछि रिपन जहाजको मस्तुलको टुप्पामा बोतललाई तारे हानेर दनादन लगाउनुहुन्थ्यो रे । मिश्र छाडेपछि उहाँलाई जहाज लाग्यो । उहाँलाई कतिसम्म विसञ्चो भयो भने उहाँ फ्रान्सको बाटो स्थलमार्गद्वारा, बेलाइत जानुहुनालाई मार्सेइमा जहाजबाट ओराल्ने पनि ठेगान लागेको थियो । तर जहाजमा भएका सबै जनाको सहानुभूति र हेरचाहले गर्दाउहाँलाई आराम हुँदै आयो र यो सफर उहाँले पुरा गर्न सक्नुभयो । जहाजमा यात्रूहरुले भागलिने सबै प्रकारका तमासा र खेलहरु उहाँ खूब मनपराउनुहुन्थ्यो र तिनमा सक्रिय भाग लिनुहुन्थ्यो । उहाँलाई रिपनजहाजको ब्याण्ड बाजा विशेष मन पथ्र्यो र उहाँले ती ब्याण्ड बजाउनलेलाई बडो उदारतासाथ पुरस्कारहरु दिनुभयो । उहाँको चालढाल शाही तथा सौम्य थियो र उहाँको चालचलन पूर्वीयहरुको भन्दा सुसभ्य यूरोपियनहरुको जस्तो देखिन्थ्यो ।

पूरा होटल आफ्नै लागि नपाए साउथह्याम्टनका कुनै पनि होटलमा जान्न भनी राजदूतले अड्डी लिनुभयो । क्रिश्चियनको लागि पकाइएका खानेकुरा फेरि कुनै किसिमले उहाँहरुको खानेकुरासँग मिसिएला भन्ने धार्मिक कट्टरताले नै यो कुरा उठेको थियो । यस निर्णयको फलस्वरुप, राजदुतको दल साउथह्याम्पटनमा बसुन्जेल उनीहरुको सुत्ने र खानेकुरा पकाउने ठाउँ ठिक गर्न तुरुन्त पेनिन्सुलर अफिसमा बन्दोबस्ती गरियो । शनिश्चरबार दिउँसोभरि राजदूतका सारा हिन्दू नोकरानहरु, भाँडा कुंडा, पानीका गाग्रा, गुण्टा बिछाउना, चामल र अरु खाने सामानहरु जहाजबाट डेरामा सार्दैमा व्यस्त थिए । पछिल्तिर चोकमा एउटा पाल टांगियो र त्यसैमा एउटा नेपाली भान्छा कोठा तयार पारियो । फुल र तरकारी किन्न सहरभरि मान्छे दौडाइए । हिन्दुहरु कुखुराको फुल लिन नमान्ने, उनीहरु हाँस र रजहाँसका ठूलाठूला फुल नै खोज्थे । साउथह्याम्पटनमा प्रशस्त पाइने काउली खूब मन पराए र त्यसको एक रासै उनीहरुले किने । खानेकुरा बनाउने र खानेमा उनीहरु खुबै गोप्यता राख्थे तापनि आफ्नो अनौठो न्वाइध्वाइको कार्यमाचांहि उनीहरु जो सुकैले देखे पनि देखोस भनेजस्तो बेवास्ता गर्थे । उनीहरु जे छोए पनि पखालीहाल्छन् । उनीहरुको यो धुवाइ एउटा धार्मिक विधिको निम्ती मात्र हो, सफाइएको निम्ती होइन । ती हिन्दू नोकरानहरु मात्र होइन कुनै त अफिसर नै पनि भित्री चोकमा हरहमेशै जस्तो पखालिइरहेका देखिन्थे । उनीहरु एउटा लिप्टो कछाडबाहेक अरु सबै लुगा फुकालेर बस्थे अनि करीव आधामाना पानीले सारा जिउ नुहाइसक्थे । नोकरानहरु सबभन्दा तल्लो जातका छन् । तिनीहरुमध्ये कुनै कुनैले त सारै मायालाग्दो गरी कम लुगा लगाएका छन् । र धेरैजसोका खुट्टामा जुत्ता छैनन् । यी नोकरहरुका लुगा र अफिसरहरुका भड्किला पोशाकको फरक सारै टड्कालो देखिन्थ्यो ।

शनिश्चरबारको दिन महामहिमले दिउँसोको भोजन आफ्ना दलका केही मान्छेहरुका साथ गर्नुभयो । भोजनोपरान्त सबै जना धूमपान गर्न लाग्नुभयो । बेलुका उहाँहरुले बग्गीमा बसेर सैर पनि गर्नुभयो ।
बेलायतको ‘इलस्ट्रेड लन्डन न्युज’ नामको अखबारको १ जून १८५० अंकमा छापिएको समाचार
साभार : ‘जंगबहादुरको बेलाइत यात्रा’ पुस्तकबाट