७ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई नम्बर प्रदेशको मत परिणामले आत्तिनु पर्दैन : अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार १४:००

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको प्रदेश नं २ को मत मरिणामबाट आत्तिनुपर्ने अवस्था नभएको बताउनुभएको छ ।

नेकपा (एमाले) ३ नं प्रदेश सम्पर्क संगठन कमिटीले आज पार्टी कार्यालयमा आयोजित स्मारिका विमोचन कार्यक्रममा उहाँले २ नं प्रदेशमा मत परिणाम कम आउँदैमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । सो स्मारिकामा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ५०औैँ वर्ष अर्थात स्वर्ण जयन्ती पैदल यात्रा–२०५५ (मदननगर, बल्खु–भँगेरी, रामेछाप) बारेका सामग्रीहरु समेटिएको छ ।

अध्यक्ष ओलीले निर्वाचनका बेलामा २ नं प्रदेशमा प्रतिकूल अवस्थामा पनि त्यति मत प्राप्त गरेको र आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वर्गीय नेता पुष्पलालको जन्मभूमि रामेछापको भँगेरीको राम्रो विकास गर्नुपर्नेमा जोड दिँदै कम्युनिष्ट स्थापना भएको अवसरमा यात्राका बेलाको स्मारिका निकाल्नु महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

एमाले नेता माधवकुमार नेपालले सत्ताको दुरुपयोग र धाँधलीपूर्ण तरिकाले २ नं प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निराश नभईकन केन्द्र र प्रदेशको निर्वाचनमा राम्रो परिणाम ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०५५ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ५०औँ वर्षका अवसरमा स्वर्गीय नेता पुष्पलालको जन्मस्थान रामेछापको भँगेरीमा एमाले पार्टी कार्यालय, मदननगर बल्खुदेखि भँगेरीसम्मको पैदय यात्रा गरिएको थियो ।

सोही यात्राको विषयलाई लिएर स्मारिका निकालिएको हो । पैदल यात्रा कमिटीका संयोजक दिव्यध्वज कार्कीको क्रियाशीलतामा सो स्मारिका प्रकाशन गरिएको हो ।