१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रदेश २ को जनमत संविधान संशोधनको पक्षमा

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार १४:३९

काठमाडौं । असोज २ गते सम्पन्न प्रदेश नम्बर २ को स्थानीय तह चुनावको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । सम्भवतः आज रातिसम्ममा सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय दलहरु नै अगाडि देखिए पनि मधेशवादी दलहरु पनि राष्ट्रिय पार्टीकै हाराहारीमा देखिएका छन् । प्रदेश नम्बर २ को जनादेशलाई राजनीतिक विश्लेषकहरुले संविधान संशोधन मुद्दाको पक्षमा मतपरिणाम आएको विश्लेषण गरेका छन् ।

प्रदेश नम्बर २ मा परम्परागत शक्ति नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । उसले अहिलेसम्म ३७ तहमा जितेको छ भने ३ स्थानमा अगाडि छ । ६ वटा प्रदेशमा पहिलो शक्ति बनेको एमाले पाचौं स्थानमा झरेको छ । उसले अहिलेसम्म १७ तहमा जितेको छ भने २ स्थानमा अगाडि छ । पछिल्लो समय मधेशमा एमालेको छवि नराम्रो भए पनि बलियो संगठनकै कारण सम्मानजनक स्थान हासिल गरेको छ ।

प्रदेश नम्बर २ मा माओवादी केन्द्रले राम्रो मत पाएको छ । माओवादी केन्द्रले २१ तहमा जितेको छ भने १ एक स्थान अझै जित्ने सम्भावना छ । २०६३ सालको मधेश आन्दोलनबाट उदाएको संघीय समाजवादी फोरमले राम्रो परिणाम ल्याएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै लामो समय आन्दोलन गरेको राष्ट्रिय जनता पार्टी नेपाल मधेशको शक्तिशाली दल बनेको छ । दुवैले २३–२३ तह जितेका छन् भने राजपाले अझै एउटा र संघीय फोरमले २ तहमा जित्नसक्ने छ ।

समग्र परिणामलाई हेर्ने हो भने प्रदेश नम्बर २ मा मधेश केन्द्रित दलको पल्लाभारी भएको छ ।