८ बैशाख २०८१, शनिबार
Follow Us

तीन साहित्यकार बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७४, सोमबार १४:००

लन्डन- नेपाली साहित्यमा योगदान पुऱ्याउने तीन जना स्रष्टालाई बेलायतमा सम्मान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतले एउटा साहित्यिक कार्यक्रमबीच उपन्यासकार अमर न्यौपाने, कवि गोविन्दराज विनोदी एवं गजलकार रवि प्राञ्जललाई सम्मान गरेको हो।

कार्यक्रममा तीन जना सर्जकहरूले आआफ्नो रचना बाचन गर्दै डायस्पोरामा समेत सिङ्गो नेपालको अनुभूति गर्न पाएको अनुभव व्यक्त गरे।

एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका केन्द्रीय सल्लाहकारहरू विश्वआदर्श पण्डित र डमर घले, पूर्व युके अध्यक्ष मुछेत्र गुरुङ, सलाहकारहरू, केन्द्रीय सदस्यहरू एवं एनआरएनए समुदायको राम्रो उपस्थिति थियो।

अतिथिहरूलाई स्वागत गर्दै एनआरएनए आइसिसीका पूर्व युरोप उपसंयोजक सोम सापकोटाले एनआरएनए अभियान भाषासाहित्यसँग पनि उत्तिकै जोडिएको बताए । संस्थाका केन्द्रीय सदस्य एवं भाषासाहित्य कार्यदलका संयोजक विश्वाशदीप तिगेलाले धन्यवाद ज्ञापन गरे।

अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न उक्त कार्यक्रमको संयोजन एनआरएनए युकेका भाषासाहित्य विभाग प्रमुख नारायण गाउँलेले गरेका थिए ।