१४ बैशाख २०८१, शुक्रबार
Follow Us

के ख़स जाति साँच्चिकै शासक र शोषक जाति हो ?

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७४, मंगलवार १९:२१

झट्ट हेर्दा देशको शासनसत्ता खस जातिको कब्जामा भएजस्तो देखिन्छ र यही प्रचार गरेर जातीय राजनीतिलाई हुर्काइएको पनि छ ।

तर खस जातिको सबैभन्दा ठूलो बसोबास र मूल थलोका रूपमा रहेको कर्णाली सबैभन्दा कम विकसित क्षेत्रमध्ये पर्दछ । राज्यका अवसर र अङ्गमा यसको सबैभन्दा कम प्रतिनिधित्व छ । यहाँका जिल्ला सदरमुकामसमेत भरपर्दो सड़क यातायातले जोडिन सकेका छैनन् भने गाउँको अवस्था दयनीय छ ।

यहाँ बोलिने भाषा र नेपाली भाषामा धेरै भिन्नता छ । अझै पनि ठूलो समूह नेपाली भाषा बोल्न जान्दैन । अहिलेको नेपाली भाषा खस भाषा होइन । यो त संस्कृत, खस, नेवारी, हिन्दी, अंग्रेजीजस्ता थुप्रै भाषाहरूको संयोजनले बनेको मिश्रित भाषा हो । एउटा सामान्य झाड़ापखालाले समेत दर्जनौंको ज्यान जानेगरी महामारीको रूप लिन्छ । न हस्पिटल छन् न डाक्टर छन् । न विश्वविद्यालय छ न उद्योग कारखाना छन् । उजाड़ डाँडा छन्, न सिंचाई छ न मल छ । न यहाँ कुनै तारे होटल छन् न कुनै शासक यहाँ पुग्छन् । न यहाँ कुनै पत्रिका पुग्छ न पत्रिकामा कर्णाली समाचार बन्छ । यहाँका जनता न सरकारी सेवामा छन् न ब्रिटिश या भारतीय लाहुरे हुन पाएका छन् । न ग्यास छ न बिजुली । हजारौँ घर सौर्य टुकीको सहारामा उज्याला छन्, नबिग्रिउन्जेलसम्म । खसको जातीय राज्य भएको भए त कर्णाली सबैभन्दा धनी र विकसित हुनुपर्ने । विदेशीले बनाइदिएका कलकारखाना त्यहीँ खुल्नुपर्ने । एक दर्जन मोटर बाटो त्यहाँ पुग्नुपर्ने ।

यहाँ साक्षरता दर सबैभन्दा कम त छँदै छ खाद्यान्न र औषधि अभाव अनि कुपोषणले गर्दा औसत आयु विश्वमैं सबैभन्दा कम छ । अझै पनि ठूलो जनसंख्याले मोटर देखेको छैन ।
ख़ासमा सत्ता काठमाडौँको काखमा हुने केही सामन्तहरूको हातमा छ । यसको काखमा हुने जुनसुकै जातकाले पनि सत्ताको स्वाद लिन पाएका छन् । स्वाद लिने अधिकांश खस होलान् तर सयको संख्यामा रहेका तिनको अनुहार हेरेर असी लाख बढ़ी खसहरूलाई शासक भनिदिनु र तिनलाई अवसरबाट वञ्चित गर्न खोज्नु कत्तिको जायज होला ? शासनसत्तामा पुग्ने र भुँडी भर्नेहरूलाई छानेर तिनको अवसर पो अरूलाई दिनु । शोषित, उत्पीड़ित र अवसरबाट वञ्चित सबै जातजातिमा छन् । सबै क्षेत्रमा छन् र सबै धर्ममा छन् । दलितको अवस्था भने फरक छ । ती सर्वत्र र सबै शोषित छन् । ती आफैभित्रबाट समेत शोषित छन् ।

उपेन्द्र यादव या सुवास नेम्बाङको छोरा शोषित भएकाले आरक्षण पाउनु र नून बोक्न तीन दिन हिँड्नुपर्ने हुम्लाको खसले शासक जातिको भएकाले कम अवसर पाउनु कत्तिको उचित होला ? जातिकै आधारमा आरक्षण दिने हो भने पनि कम्तीमा वर्ग हेरेर दिन सकिँदैन ? ताकि विनोद चौधरीको छोराको सट्टा जुत्ता पालिस गरेर जीविका चलाउनुपर्ने रामजनम चौधरीको बच्चाले त्यो अवसर पाओस् ! सिटामलसम्म खान नपाएर अकालमा ज्यान गुमाउनुपर्नेको गास काटेर दिइने आरक्षण कम्तीमा उत्तिकै गरीब अर्को जातकाले पाए राम्रो होइन र ? जो बाठो र पहुँचवाला छ उसैले अवसर उछिट्याउने हो भने आरक्षणको के अर्थ ?

(नारायण गाउँलेको फेसबुकबाट)