१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७४, बुधबार ०७:४९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताउनुभएको छ ।

उहाँले यससम्बन्धी कार्यक्रमको मङ्गलबार घोषणा गर्नुभएको हो । आगामी बर्षको अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली बत्ती पुगिसक्ने उहाँको आश्वासन आएको हो ।

भारतमा बिजुली बत्ती नपाएका ४ करोडभन्दा बढी घरमा अबको बढीमा १५ महिनाभित्रमा बिजुली पुग्ने योजना भारतीय सरकारले ल्याएको हो ।

यसका लागि भारत सरकारले मङ्गलबार एक नयाँ आयोजनाको पनि घोषणा गरेको छ । उक्त आयोजना साढे दुई अर्ब अमेरिकी डलर बराबरको हो । यसबाट भारतका बाँकी रहेका घरधुरीमा अब बिजुली बत्ती पुग्ने अनुमान गरिएको ।

प्रधानमन्त्रीको यस घोषणालाई कतिपय राजनीतिक विश्लेषकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी कार्यक्रम पनि भनेका छन् ।

उनीहरुले भारतमा आगामी सन् २०१९ मा अर्थात करिब डेढ बर्षपछि नै नयाँ आम निर्वाचनको समय आएकोले अबको निर्वाचनकै लागि उहाँले यो चुनावी कार्यक्रम ल्याउनुभएको भनेका छन् ।

भारतमा रहेको जम्मा २५ करोड घरधुरीमध्ये अझै पनि ४ करोड घरमा बिजुली छैन र यो कम्तीमा पनि २० प्रतिशत हुन आउँछ ।

प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– भारतमा अझै पनि कम्तीमा २० प्रतिशत नागरिकमा बिजुली पुगेको छैन उनीहरुलाई आगामी बर्षको अन्त्यसम्ममा पु-याइने छ ।

यो क्षेत्र गाँउ होस वा सहर होस, उनीहरुको प्रत्येक घरमा आगामी बर्षको अन्त्यमा बिजुली पुग्नेछ, यसमा ढुक्क हुनुपर्छ– उहाँको भनाई थियो ।