लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले पर्वत जिल्लाको एक मात्र अपांग मैत्री स्कुल श्री शिवालय उच्च माविमा अध्ययनरत सुस्त मनस्थिति र दृष्टिबिहीन विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ ।

उक्त विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति भएका र 
दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गर्न अभियान थालिएको सोसाइटीका अध्यक्ष दधी आचार्यले जानकारी दिए । अभियानमा हालसम्म ५ लाख रुपैयां संकलन भइसकेको जनाउंदै उनले दाताप्रति आभार व्यक्त गरे । सहयोग रकमलाई अक्षयकोषमा राख्न सकिनेबारे पनि छलफल भइरहेको अध्यक्ष आचार्यले बताए ।

गत आइतबार एम्पायर हल अल्डरसटमा भएको संस्थाको 
बैठकमा यस अभियान सफल बनाउन अपनाउने रणनीतिक योजनाबारे छलफल भएको छ । बैठकले सो सहयोग संकलन कार्य अझै प्रभावकारी बनाउन निवर्तमान अध्यक्ष नरजंग गुरुङ र वर्तमान अध्यक्ष दधी आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

पर्वतकै एक नमुना स्कुल मानिने शिवालय उच्च माविमा हाल १९ जना सुस्त मनस्थिति र दृष्टिबिहीन विद्यार्थी 
अध्ययनरत छन् । उनीहरुको उज्ववल भविष्यका लागि आफूले बेलायतबाट अभियानको परिकल्पना गरेको जनाउंदै आचार्यले यस कार्यमा सघाउन सबै बेलायतवासी नेपालीमा अपिल गरेका छन् ।

अध्यक्ष आचार्यले ति विद्यार्थीलाई सुत्ने बेड, कम्प्युटर, फोटो कपी मेसिन र प्रिन्टर समेत आवश्यक परेको खबर आएकाले त्यसतर्फ पनि सोचाइ बनाइएको बताए ।

यसैबीच, पर्वत वेलफेयर सोसाइटी लगायत अन्य चार वटा समाजहरुको संयुक्त पहलमा डा. महावीर पुनसंग 
रात्रीभोज हुने भएको छ । आगामी २७ अक्टोबर सांझ ६ देखि १० बजेसम्म एम्पायर हल अल्डरसटमा पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ रात्रीभोज गर्न लागिएको हो । उक्त अवसरमा पुनसंग अन्तक्रिया गर्ने र यूकेका विभिन्न 
संघसस्थासंग मिलेर सहयोग गर्ने सम्वन्धमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा अर्को वर्ष २१ अप्रिल २०१८ का दिन पर्वत वेलफेयर सोसाइटी यूकेको वार्षिक भेटघाट कार्यक्रम तय गरिएको छ ।
बैठकमा समाजसेवी तथा पत्रकार हुम गुरुङलाई सम्मान गरिएको थियो ।