६ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघको ११ औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७३, आईतवार ०४:३३

काठमाडौं । नेपाल विद्यार्थीसंघको ११ औं महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । २५ साउन सम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित एक कोषध्यक्षसहित केन्द्रीय कार्यसमिति एक सय ५१ सदस्यीय हुने छ ।

दश वर्षपछि महाधिवेशनमा उत्रिएको नेविसंघमा चुनावी सरगर्मी छाएको छ । बिहानबाट महाधिवेशन स्थलमा सवारी साधान प्रवेशमा राेक लगाइएको छ । लामो समय अधिवेशन नभएका कारण अध्यक्ष लगायतका पदहरुमा उमेदवारको संख्या धेरै छ । पार्टी गुट र नेताका नजिकका पनि एक भन्दा बढी भएकाले मिलाउन समस्या देखिएको छ ।

सभापति शेरबहादुर देउवाको पक्षबाट जितजंग बस्नेत र नैनसिंह महर प्रमुख दाबेदार रहेका छन् । उनीहरुसँगै रत्न कार्की, सरोज थापा र राजीव ढुंगानाले समेत अध्यक्षको दाबेदारी प्रस्तुत गरिरहेका छन् । नेता रामचन्द्र पौडेलको तर्फबाट मनोजमणि आचार्य र दीपक भट्टराई प्रमुख दावेदार रहेका छन् । सोही पक्षमा आनन्द त्रिपाठी र नीलकण्ठ रिजालले पनि दाबी प्रस्तुत गरेका छन् । त्यस्तै कुन्दनराज काफ्ले र शुभराम बस्नेतपनि अध्यक्षको दाबेदार हुन् । उनीहरुले आफूलाई सिटौला पक्षधर भन्दै प्रचार गरेका छन् ।

महाधिवेशन स्थलमा सुरक्षा चुनौति रहेको भन्दै नेपाल प्रहरीले सीसी क्यामेराबाट निगरानी बढाएको छ । चार ठाउँमा सीसीक्यामेर जडान गरिएको छ । हलको बाहिर धेरै गतिविधि हुने स्थानमा सीसीक्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ । महाधिवेशनमा १ करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा लाग्ने सबैंखर्च पार्टीले नै वेहोर्ने भएकाले चन्दा नउठाएको नेविसंघले जनाएको छ ।

२०६४ सालमा प्रदीप पौडेल अध्यक्षमा निर्वाचित भएयता महाधिवेशन हुन सकेको थिएन । ६ महिनाभित्र महाधिवेशन गर्न २१ माघ २०६८ मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले रञ्जित कर्णलाई अध्यक्ष बनाएर जिम्मेवारी दिएका थिए । तर, आठौं प्रयासमा बल्ल महाधिवेशन हुने स्थिति बनेको हो ।