७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस नेता जोशीलाई टिकट दिन कार्यकर्ताको प्रदर्शन

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७४, बुधबार ०६:४४

तनहुँ । नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीलाई टिकट दिन माग गर्दै तनहुँका कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका छन् । जिल्ला कार्य समितिको बैठक चलिरहेका बेला क्षेत्र नम्बर १ का जोशीका समर्थकले दमौली बजारमा र्याली तथा सभा गर्दै जोशीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि टिकट दिन नेतृत्वको ध्यानाकर्षण गरेका हुन् ।

विगतमा सोही क्षेत्रबाट टिकट लिएर सांसद तथा प्रभावशाली मन्त्रीसमेत भैसकेका जोशी लडेको क्षेत्रमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत इच्छा देखाएपछि अहिले त्यहाँको टिकट वितरण पार्टीका लागि पेचिलो बन्दै गैरहेको छ । क्षेत्रले जोशीसहितको नाम सिफारिस गरे पनि उनको ठाउँबाट वरिष्ठ नेता पौडेल लड्न खोजेपछि जोशी समर्थक आक्रोशित बनेका छन् ।

सभामा बोल्दै नेता जोशीले आफ्नो पालामा जे जति विकास भए पनि बीचमा विकास कम भएकाले जनताको विकासको चाहनाका लागि आफू चुनाव लड्न लागेको बताए । उनले आफूलाई टिकट नदिए कार्यकर्ताबाट हुने प्रतिरोधको सामना गर्न वरिष्ठ नेता पौडेललाई चेतावनी दिए ।

ad
तनहुँमा क्षेत्र नम्बर १ बाट पौडेल र जोशीसहित केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईसमेत प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षको टिकटका आकांक्षी छन् । क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य प्रदीप पौडेलसहित संसदीय दलका सचिव ध्रुव वाग्लेलगायतका नेताले प्रतिनिधि सभा सदस्यको टिकटको आशा गरेका छन् ।