१२ बैशाख २०८१, बुधबार
Follow Us

माओवादी डिस्टिङ्सन, एमाले पास र कांग्रेस फेल

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७४, बुधबार ०९:०७

इमानदार भएर भन्नुपर्दा मुलुक गत १२ वर्षदेखि माओवादीकै मुद्दामा अघि बढ्दै आएको थियो । कांग्रेस र एमाले सहयोगी भूमिकामा थिए । कुर्सीबाहेक तिनको अन्य कुनै एजेन्डा थिएन र छैन पनि ।

गणतन्त्र, समानुपातिक निर्वाचन, धर्मनिरपेक्षता, सङ्घीयताजस्ता उसका प्रायः सबै मुद्दा पूरा भइसकेका हुनाले उसको औचित्य बिस्तारै सकिँदै गएको थियो । पूरा हुन नसकेको एउटा मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको थियो । अहिलेको समीकरणले त्यसलाई पूरा गर्नसक्ने सम्भावना बलियो बनेको छ ।

स्थानीय निर्वाचनअघिसम्म एमालेको विश्लेषणमा माओवादीको जनाधार सकिइसकेको थियो । कांग्रेस अत्यन्त अलोकप्रिय देखिएको र माओवादी सकिएको अनुमानले गर्दा देश एमालेमय बनेकोजस्तो हल्ला गरिए पनि खसेको मतसङ्ख्याका आधारमा कांग्रेस पहिलो पार्टी रहिरह्यो भने माओवादीले आफू सकिइहाल्ने शक्ति नरहेको सिद्ध गर्यो ।

माओवादी र कांग्रेसबीचको सहकार्य कत्ति पनि प्राकृतिक र स्वाभाविक थिएन । यसको एकमात्र उद्देश्य सत्तामा कब्जा गरिरहनु र एमालेलाई सत्ताबाहिर राखिरहनु थियो । कार्यकर्तामा कत्ति उत्साह थिएन तर पनि यो गठबन्धन लामो समयसम्म चलेको भए आमकार्यकर्ताले आफूलाई त्यसमैं अभ्यस्त बनाउँदै लैजाने थिए । संसदीय र प्रादेशिक निर्वाचनसम्म यो टिकेको भए सबैभन्दा नोक्सान एमालेलाई हुने थियो । फलतःएक्लै लड्ने क्षमता भएको भनेर प्रचार गरिए पनि एमालेले सजिलै ४०% माओवादीलाई छोड्न तयार भयो । कांग्रेसको अवस्था पनि यस्तै छ । चुनाबका लागि कमल थापासँग त गठबन्धन गरेको एमालेका लागि अहिलेको समीकरण अप्राकृतिक भने होइन । पार्टी नै एक हुने सम्भावना धेरै नभए पनि त्यसको हल्लाले गर्दा चुनाबी तालमेलप्रति कार्यकर्तामा निराशा छाउने छैन । एमालेको मधेशविरोधी छविलाई चिर्न ओली सफल भएका छन् । सिट थोरै जिते पनि मधेशमैं पनि एमालेले राम्रो मत ल्याएको छ ।

चुनाबपछि एकीकरण नै भयो भने त्यो राष्ट्रिय राजनीतिका लागि उल्लेख्य प्रगति हुनेछ । साना र क्षेत्रीय दल धेरै हुँदा राजनीति अपाङ्ग हुँदो रहेछ । विभिन्न विचार समूहका व्यक्तिहरू गाँसिएर एउटा बहुलवादी राम्रो दल बन्न पनि सक्छ । देशलाई स्थायी सरकार प्रदान गर्न सक्यो भने यो गठबन्धनको ठूलो देन हुनेछ । कम्तिमा यो निर्वाचनमा कांग्रेस एक्लो देखिएको छ । आफूविरुद्धको चौतर्फी घेराबन्दीले त्यसलाई आफ्नो रणनीतिमाथि पुनः समीक्षा गर्न बाध्य पार्नेछ ।

एकले अर्कोलाई अलग्याउने प्रयासमा कांग्रेस-एमाले दुबै लागेकै थिए । एमाले पास र कांग्रेस फेल भएको छ । तर डिस्टिंक्शन ल्याएर उत्तीर्ण गर्नेचाहिँ माओवादी भएको छ । सिद्धिइसकेको भनिएको शक्तिलाई ४०% हिस्साका साथ एमालेसँग हाराहारीमा उभ्याउन प्रचण्ड सफल भएका छन् । छोरा र छोरीका निम्ति भोट माग्न अब ओली भरतपुर पस्ने अवस्था सिर्जना भएको छ । यो मिलनमा चिनियाँ चासो र सहयोग रह्यो होला, तर यसमा माओवादी र एमालेकै स्वार्थ प्रमुख छ ।

‘लेफ्ट’हरू बीच एकता भए पनि ‘सेन्टर’देखि ‘राइट’सम्म अन्य कुनै वैकल्पिक राजनैतिक शक्ति नभएकाले कांग्रेसको अवस्था धेरै कमजोर भने छैन । प्रजातान्त्रिक मूल्य र समाजवादको फ्यूजनका रूपमा कांग्रेसको धार नै अहिलेको विश्व राजनीतिको धार रहेकाले यो मेटिएर जाने सम्भावना कम छ । तर उसको मूलभूत समस्या नै वैचारिक अस्पष्टता र निष्ठाविहीनता हो । नेतृत्वमा सैद्धान्तिक ज्ञान, व्यावहारिक कुशलता र दीर्घकालीन सोच केही नभएकाले कांग्रेस कमजोर भएको हो । राज्य सञ्चालनमा पाएका अवसरहरूमा समेत उसले आफूलाई प्रजातान्त्रिक समाजवादी शक्तिका रूपमा सिद्ध गर्न सकेको छैन । यही राजनैतिक धार नजिक रहेका अन्य दलहरूलाई समेत आफूतिर तान्ने क्षमता उसमा देखिएको छैन । अहिलेसम्म पार्टीको राम्रो कामले होइन, जनताले निरपेक्ष साथ दिएकाले नै कांग्रेस ठूलो पार्टी बनिरहेको हो । दललाई क्षय हुनबाट बचाउन उसले आफूमा आमूल सुधार गर्नु जरूरी देखिन्छ । पहिलो काम त ऐतिहासिक कलङ्क बनेको जम्बो मन्त्रिमण्डललाई १०-१५ मा झारेर पनि गर्न सकिन्छ । वाम शक्तिलाई फुटाएर मात्रै सधैँ पहिलो पार्टी बन्ने सपना राम्रो होइन । आफ्नो वैचारिक समूहलाई जुटाएर अगाडि बढ्ने भिजन हुनुपर्छ ।

-नारायण गाउँले