८ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचन आयोगद्वारा मतदाताहरुको संख्या सार्वजनिक

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७४, बुधबार १२:३१

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको सातवटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाताको संख्या सार्वजनिक गरेको छ । अयाोगले १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन आयोग परिसरमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको जनाएको छ । जसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६, महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाता १७० जना रहेका छन् । आयोगको निर्णय अनुसार, डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणबश यकीन हुन नसकेकाले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण माग गरी प्राप्त भएपछि यकीन गरी मतदाता नामावलीमा समावेश गरिने छ ।

स्वीकृत मतदाता नामावली अनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेका छन् । यसैबीच निर्वाचन आयोगले निर्वाचन केन्द्रमा कर्मचारी खटाउने तयारी समेत गरेको छ ।