१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन उपाध्यक्षमै निरन्तरता दिने पन्तको घोषणा

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७४, बिहीबार ११:३४

काठमाडौं —गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनाबी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।

‘कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाई अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले मैले उपाध्यक्ष पदमै निरन्तरताका लागि सोही पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, उपाध्यक्ष पन्तले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्।

अग्रगामी र गतिशील सोच भएको नेतृत्वले मात्र गैरआवासीय नेपाली संघलाई अघि बढाउन सक्षम हुने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘संस्थाभित्र पछिल्लो समय देखिएका आयामले गैरआवासीय नेपालीको यो साझा संगठनलाई विभिन्न कोणमा ध्रुवीकृत गर्दै लगेको छ। यस्तो अवस्थामा कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एक ढिक्का भई अघि बढ्नु जिम्मेवार ठर्हछ । त्यही कर्तव्यलाई सम्मान गर्दै विश्वभरिका धेरै एनआरएन साथीहरुको अन्तक्र्रियापछि मैले आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेको छु’ विज्ञप्तिमा उल्लेख छ।

अग्रज एनआरएनहरूको समर्पण एवं मैत्री भाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै आफ्नो समय संगठनको उचाई र श्रीवृद्धिमा लगाउनुलाई कर्तव्य ठानेको उल्लेख गरेका छन्।

‘सन् २०१५—२०१७ को कार्यकाल मेरा लागि विश्वका सबै अन्र्तराष्ट्रिय समन्वय समितिका साथीहरुसम्म पुग्ने, सम्पूर्ण गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरु बुझ्ने मौकाको रुपमा रह्यो’, विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष पदलाई निरन्तरता दिँदै सबै विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त लगानीको एउटै मालामा जोड्न चाहन्छु।’

जर्मनीमा एक दर्जभन्दा बढी होटल र आधा दर्जनभन्दा बढी रेष्टुराँका लगानीकर्ता पन्त एनआरएन स्थापनाकालदेखि नै संस्थामा सक्रिय व्यक्ति हुन्। यूरोप क्षेत्र संयोजक हुनुभन्दा अघि उनले अन्र्तराष्ट्रिय समन्वय परिषद सदस्य एवं एनआरएन जर्मनीमा रहेर काम गरेका थिए । शेष घले पहिलो कार्यकालका लागि निर्वाचित हुँदा पन्त गैर आवासीय नेपाली संघका महासचिव भए । घले २०१५–२०१७ को दोश्रो कार्यकालमा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए।

नेपालमा गएको विनाशकारी भूकम्पपछि गैरआवासीय नेपाली संघले सुरु गरेको राहत तथा पुनःनिर्माणको कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने थोरै गैरआवासीय नेताहरुमध्ये उनी पर्छन्। संस्थाको आफ्नै भवन निर्माण एवं शंखमुलस्थित एनआरएन पार्क निर्माणमा समेत उनले योगदान पु¥याएका छन्। संविधानमा नेपाली नागरिकताको व्यवस्था गर्ने तथा त्यससम्बन्धी कानुनी र नीतिगत व्यवस्थाहरुको पहलकदमी र परामर्शमा पन्तको महत्वपूर्ण योगदान रहँदै आएको छ।

पन्तले संघको आगामी २ वर्षे कार्यकालको लागि पूर्णकार्ययोजना छिट्टै सार्वजानिक गर्ने उल्लेख गरेका छन् ।