१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्याग्दी कांग्रेसले को-कसलाई उम्मेदवार सिफारिस ग-यो ?

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७४, बिहीबार १३:३६

म्याग्दी । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नामावली संकलन गरी काँग्रेस जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवारको टुङ्गो लगाएर पार्टी केन्द्रीय समितिमा रिफारिस गरिएको हो । काँग्रेस म्याग्दीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टी सभापति खमवीर गर्बुजा र युवा नेता अमृतमान शेरचनको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेशसभामा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा रेशमबहादुर बानियाँ, नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको हो । त्यस्तै प्रदेशको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको काँग्रेस म्याग्दीका सभापति गर्बुजाले जानकारी दिनुभयो ।

काँग्रेस म्याग्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ क्याप्टेन मीनबहादुर कार्की, विमला गौचन र त्रिलोकचन्द्र विश्वास तथा प्रदेशतर्फ क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवारमा मुकुन छन्त्याल, मनकुमारी विश्वकर्मा र रवीन्द्र गर्बुजाको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशको २ नं निर्वाचन क्षेत्रका लागि समानुपातिकतर्फको उम्मेदवारमा तमबहादुर थापा, डिलबहादुर केसी, दीर्घबहादुर सुनार, कमरा कामी पटेल र उदीमबहादुर पुनको नाम केन्द्रमा पठाइएको छ ।

यसअघि जिल्लाबाट नेकपा (माओवादी केन्द्र)ले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नामावली सिफारिस गरिसकेको छ भने उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले)को जिल्ला कमिटीको बैठक आजदेखि बेनीमा शुरु भएको छ ।
रुकुम – काँग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको सिफारिस गरेको छ ।

यही असोज १६ गतेदेखि बसेको जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि २६ नाम सिफारिस गरेको हो । सोअनुसार प्रतिनिधिसभाको प्रत्यक्षका लागि पूर्वराज्यमन्त्री गोपालजीजङ्ग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली, महाधिवेशन प्रतिनिधि यामबहादुर केसी र पूर्वपार्टी उपसभापति वीरबहादुर ओलीको नाम सिफारिस गरिएको छ । समानुपातिकमा सभापति प्रेमप्रकाश ओली, पूर्वराज्यमन्त्री शाह र वरिष्ठ अधिवक्ता डा नवराज गौतमको नाम सिफारिस गरिएको बताइएको छ । शाह र ओलीमध्ये एक जना प्रत्यक्षमा लड्ने र एक जना समानुपातिकमा जाने आन्तरिक सहमति भएको एक नेताले जानकारी दिनुभयो ।

यस्तै प्रदेशको क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ कृष्णबहादुर रोकाय, हर्कसिं खत्री, राजु केसी, ओम केसी र लेखमाया केसी तथा समानुपातिकमा पूर्वपार्टी सभापति मानबहादुर नेपाली, क्षेत्र नं २ का सभापति धीरेन्द्रकुमार बटाला, मनिषा भण्डारी, जनकुमार बाँठा, यज्ञ परियार र गंगाराम गौतमको नाम सिफारिस गरिएको जिल्ला सभापति ओलीले जानकारी दिनुभयो ।

प्रदेशको क्षेत्र नं २ बाट प्रत्यक्षमा तीलबहादुर भण्डारी, गोरखप्रसाद चन्द, थलबहादुर खड्का र नरजङ्ग ओली तथा समानुपातिकमा पार्टीका जिल्ला कोषाध्यक्ष कालुराम खड्का, नेविसंघका केन्द्रीय उपाध्यक्ष खड्गबहादुर डाँगी, सीता ओली, भीमबहादुर डाँगी, मोहनप्रकाश आचार्य र दीपेन्द्र पुनको नाम केन्द्रमा सिफारिस गरिएको छ ।