७ बैशाख २०८१, शुक्रबार
Follow Us

सोह्र वर्षदेखि पुनः स्थापनको पर्खाइमा निकुञ्ज विस्थापित परिवार

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार ०४:४७

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट १६ वर्ष अघि विस्थापनमा परेका दुई हजार ४७३ परिवारको अझै पुनः स्थापन हुन सकेको छैन ।

समस्या समाधानका लागि २९ वटा आयोग बने पनि समस्या समाधान नभएपछि विस्थापनमा परेका परिवार १५ वटा शिविरमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । “स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले समस्या समाधानका लागि कार्य योजनामा राखेपनि चासो नदिँदा झनै पीडित बनेका छौँ” शुक्लाफाँटा निकुञ्ज संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले चासो दिई समस्या समाधान गर्नेमा आशावादी भए पनि कार्य अगाडि नबढ्दा चिन्तित हुनुपरेको उहाँले बताउनुभयो ।

सुक्खायाममा गर्मीको सास्ती, वर्षात्मा झोपडीमा पानी चुहिँदा खाद्य सामग्रीसहित परिवार जोगाउन गाह्रो र हिउँदमा कठयाङ्ग्रिदो जाडोमा जीउ जोगाउननै मुस्किल भएको समितिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

बस्दै आएको शिविरमा खानेपानी, स्वास्थ्य, शिक्षा र स्थानीय निकायले दिने सेवा सुविधाबाट समेत विस्थापित परिवार वञ्चित रहेका छन् ।

दैनिक मजदुरीसमेत यहाँ नपाइदा भारतीय शहरमा छ महिना सम्म काम गरेर पेट पाल्दै आएको प्रेमबहादुर ऐरले बताउनुभयो । युवा सबै भारततर्फ लाग्दा शिविरमा बूढापाका, महिला र बालबालिका मात्रै रहेका छन् ।

आर्थिक अभावले उपचार गराउन नपाउँदा शिविरमा बसेदेखि हालसम्म बिरामी परेर १३८ जनाको ज्यान गइसकेको संघर्ष समितिका अध्यक्ष भण्डारीको भनाइ रहेको छ । बसेकै स्थानमा जग्गाको मापदण्ड निर्धारण गरी वास्तविक पीडित परिवारलाई पुनःस्थापन गराइनु पर्ने विस्थापित परिवारको माग रहेको छ ।