१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कुल आचार्यद्धारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार २२:२४

काठमाण्डौं । गैरआवासीय नेपाली संघको यूरोप संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले शनिवार विज्ञप्ति जारी गर्दै यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुन गैरहेको आठौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्यले आफ्नो घोषणसंगै ७ बँुद्धे प्रतिवद्धता जनाएका छन् । उनले एनसिसिहरुलाई अरु बढी कृयाशील र सुदृढ तुल्याउने, बैदेशिक रोजगार, कल्याणकारी तथा मानवीय सहयोग, क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउने लगायतका प्रतिवद्धता जनाएका छन् ।

आचार्यद्धारा जारी विज्ञप्तिको पूर्णपाठ
सर्वप्रथम यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुन गैरहेको आठौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन छानिनु भएका सबै महाधिवेशन प्रतिनिधिहरुलाई म हार्दिक बधाइ ज्ञापन गर्दछु। जहाँ बसे पनि जहाँ रहे पनि हाम्रो मन र मुटुमा नेपाल, केवल नेपाल मात्रै छ। हामी अहिले जहाँ छौ, जुन अवस्थामा छौं, त्यो त्यही माटो, हावा र पानीको योगदान हो।

विदेशमा रहेता पनि मातृभूमिका लागि केही गरेर छाडछौं भन्ने अठोटका साथ स्थापित गैरआवासीय नेपाली अभियानमा गएको १२ वर्ष देखि सहभागी हुँदा मैले सिकेका कुराहरु संक्षेपमा यहाँ राख्न चाहन्छु।

मैले सन् २००६ ८ मा साधारण सदस्य, २००८ ०९ मा एनआरएन युकेको कार्यसमितिको सदस्य, सन् २००९, ११ मा उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक भएर काम गरें। त्यसपछि साथीहरुको स्नेह र सहयोगले २०११, १३ को कार्यसमितिमा अध्यक्ष पदमा निर्वाचित भएर काम गर्ने अवसर पनि मैले पाएँ। त्यस्तै सन् २०१३,१५ मा आइसिसि सदस्यका साथै कल्याणकारी तथा मानवीय सहायता टास्कफोर्सको सहसंयोजकको जिम्मेवारी निर्वाह गरें।

यो सम्पूर्ण अवधिमा बेलायतस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था, नेपाली दूतावास तथा महानुभावहरुबाट प्राप्त सहयोग र उत्साहकालागि म सँधै आभारी छु। सन् २०१२ मा हामीले इन्टा युके तथा सहारा युकेसंगको सहकार्यमा नेपालका पहिलो ओलम्पियन भूपेन्द्र सिलवाललाई बेलायत आमन्त्रण गरी लण्डन ओलिम्पिक्स हेर्ने व्यवस्था मिलायौं। उहाँको भ्रमणले नेपालका खेलाडीहरुको मनोबल बढाउन मदत पुगेको मैले पाएको छु।

नेपाल पत्रकार महासंघ युके शाखासंगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा विकट जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान, सबै युकेवासी नेपालीहरुको दरिलो सहयोग र प्रोत्साहनबाट मात्र संभव भएको हो।

सन् २०१५, १७ मा संघको युरोप क्षेत्रीय संयोजकका रुपमा मैले गरेका कामहरु यहाँहरु सबै सामु छन्। २७ वटा राष्ट्रिय समन्वय परिषदहरु रहेको युरोपस्थित एनआरएनको विशाल सन्जाललाई कृयाशील बनाउनुकासाथै नेपालमा भूकम्प आउँदा होस् वा बाढीको प्रकोप आउँदा हामीले अग्रपंक्तिमा रहेर काम गरेका छौं। त्यस्तै गोर्खाको लाप्राकमा भूकम्प पीडितहरुकालागि निर्माणाधीन नमुना वस्ती तथा एनआरएनको आफ्नै भवन बनाउने अभियानमा युरोपबाट सहयोग जुटाउन युरोपस्थित एनसीसीहरुको अग्रणी भूमिका रहेको छ। बागमती नदीको छेउँमा शंखमूलमा निर्माणाधीन एनआरएन पार्ककालागि पनि हामीले सहयोग जुटाएका छौं। सोही अवधिमा आइसिसिको लगानी तथा व्यापार प्रबर्द्धन टास्कफोर्सको संयोजकको रुपमा विशेषगरी युरोप क्षेत्रबाट नेपालमा विभिन्न परियोजनाहरुमा लगानी गर्ने कामहरु भएको छ भने नेपालमा उत्पादित सामानहरुलाई युरोप लगायत विभिन्न विश्वबजारमा पुराउने पहल पनि भैरहेको छ।
गएको दुई वर्षमा युरोपमा विभिन्न पेशा, व्यवसायमा संलग्न नेपालीहरुका समस्या संबोधन गर्नमा पनि म कृयाशील रहेको छु। नेपालका परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी अधिकारीहरुसंग समन्वय गरी स्पेनमा नेपाली दूतावास स्थापना गर्नमा सानो भएपनि भूमिका निर्वाह गर्न पाएकोमा मलाई खुसी लागेको छ। बेलायतस्थित भूपू गोर्खाका समस्या समाधान गर्न पनि मैले सक्दो पहल गर्दै आएको छु।
साथीहरु, मैले भन्ने गरेको छु, एनआरएनमा आफ्नो व्यक्तिगत भन्दा पनि संस्थागत एजेण्डालाई नै प्राथमिकता दिने प्रचलन छ। त्यसैले यहाँ व्यक्तिगत हारजीत गौण हुनजान्छ। तथापि आजसम्म तपाईंहरुबाट प्राप्त स्नेह र एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा तपाईं मित्रहरु संग सरसल्लाह गरी संघको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। आजसम्म तपाईंहरुबाट प्राप्त स्नेह र एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा तपाईं मित्रहरु संग सरसल्लाह गरी संघको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। तपाईंहरुको सहयोगबाट उक्त पदमा निर्वाचित भएमा आउँदो दुई वर्षे कार्यकालमा निम्न अनुसारका कामहरु गर्ने वाचा गर्न चाहन्छु।

मेरा प्रतिवद्धताहरु
१. गैर आवासीय नेपाली संघको भावना र मर्म अनुरुप संसार भरि फैलिएका एनआरएनए एनसिसिहरुसंग समन्वय गरी एनसिसिहरुलाई अरु बढी कृयाशील र सुदृढ तुल्याउन सक्दो भूमिका निर्वाह गर्नेछु।
२. खासगरी खाडी मुलुकहरु, मलेसिया, कोरिया लगायतका मुलुकहरुमा कार्यरत लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरु लगायत गैरआवासीय नेपालीहरुले भोग्नुपरिरहेका आप्रवसन, भिसा, एमआरपी लगायतका समस्याहरुका बारेमा संबन्धित एनसिसिहरुसंग समन्वय गरी संबन्धित देशका नेपाली राजदूतावासहरु मार्फत ती समस्याहरुको समाधानका लागि कृयाशील रहनेछु।
३. गैरआवासीय नेपाली संघको कल्याणकारी तथा मानवीय सहयोग समितिको सहसंयोजकको रुपमा विगतमा मैले प्राप्त गरेको अनुभवको आधारमा नेपालमा खासगरी भूकम्प पश्चातको पुनर्निर्माण कार्यमा सबै एनसिसिहरुलाई सकृय सहभागी तुल्याउन भूमिका निर्वाह गर्नेछु।

४. संसारभरि फैलिएका नेपालीहरुसंग रहेको क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउन पहल गर्नेछु।
५. प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली समुदायको गौरवपूर्ण पहिचान जोगाइराख्न योजनावद्धरुपमा अगाडि बढनेछु।
६. “एक पटकको नेपाली सधैंको नेपाली” नारालाई सार्थक बनाउन गैर आवासीय नेपालीहरुको हकहित सुरक्षित गर्ने गरी नेपालको संविधान अनुरुप गैर आवासीय नेपाली नागरिकता संबन्धी ऐन बनाउन पहल गर्ने छु ।
७. गैरआवासीय नेपाली अभियानमा संलग्न युवा, महिला, जनजाति लगायतका सदस्यहरुको हकहित सुरक्षित गरी उहाँहरुको उर्जा रचनात्मक दिशामा लगाउन सँधै सहयोगी भूमिका निर्वाह गर्नेछु। साथै संघमा बेलाबेलामा देखिने मतमतान्तरबाट उत्पन्न तिक्तता मेटाउन समन्वयकारी भूमिका निर्वाह गर्दै संघलाई अरु बढी एकताबद्ध तथा प्रभावकारी बनाउन पहल गर्नेछु।
यीनै वाचाका साथ मैले विगतमा झैं यसपटक पनि तपाईं सबैको न्यानो माया र सहयोग प्राप्त हुने विश्वास लिएको छु।

कुल आचार्य
यूरोप संयोजक तथा उपाध्यक्ष (उम्मेदवार)
गैरआवासीय नेपाली संघ
७ अक्टोवर २०१७