७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन रुसद्वारा विकट गाउँमा एम्बुलेन्स सहयोग

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार ११:२४

फलेवास (पर्वत), रोजगारीका लागि रुसमा रहेका नेपालीको सहयोगमा यहाँको एक विकट गाउँमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

गैरआवासीय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका–३ मा रहेको रानीपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।

एनआरएन रुसमा आबद्ध नेपालीले एम्बुलेन्स खरिदका लागि रु २० लाख संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै बिरामीले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् ।

आइतबार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्साल र एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानवीय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एनआरएनले थप सहयोग जारी राख्ने बताउनुभयो । गाउँमा एम्बुलेन्स सेवा शुरु भएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताउँदै उहाँले विकासमा स्थानीय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

एम्बुलेन्स प्राप्त भएपश्चात् स्थानीयवासीको धेरै वर्षदेखिको माग र आवश्यकता पूरा भएको तथा आकस्मिक बिरामीका लागि समयमा नै अस्पताल पु¥याउन सहज हुने रानीपानी स्वास्थ्य चौकीका अध्यक्ष सूर्यबहादुर थापाले बताउनुभयो ।

एम्बुलेन्स सेवा सञ्चालनसँगै दक्षिण पर्वतको विहादी गाउँपालिकाअन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैँयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दा सामान्य उपचारका लागि पनि स्याङ्जा तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।

सो अवसरमा सांसद विकास लम्सालले बाच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्रथमिकता दिएको बताउनुभयो । आफूले पर्वतको विकासका लागि धेरै काम गरेको बताउँदै सांसद लम्सालले आफू सबै गाउँबस्तीमा पुगेर जनताको वास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताउनुभयो ।