१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नुवाकोट कांग्रेसबाट १३९ जनाको नाम सिफारिस

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार १८:०१

त्रिशूली, नुवाकोट, मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस नुवाकोटले उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
प्रतिनिधिसभाका दुई र र प्रदेशका लागि चार निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रत्यक्ष र समानुपातिकमा गरी १२ पदका लागि १३९ जना सिफारिस गरिएको छ । क्षेत्रीय समितिले सिफारिस गरी पठाएको नामावलीलाई केन्द्रमा पठाइएको कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताउनुभयो ।

नेता अर्जुननरसिंह केसी र डा रामशरण महतलाई एकै स्थान क्षेत्र नं १ र डा प्रकाशशरण महत र जगदीश्वरनरसिंह केसीलाई क्षेत्र नं २ मा प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।
प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सरिता लामाको नाम पनि सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं १ को १ बाट प्रदेशसभामा महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, दिनेश खनाल, नीलम उप्रेती र विनोद शाहको नाम सिफारिस भएको छ । क्षेत्र नं १ कै २ बाट प्रदेशसभाको प्रत्यक्ष चुनाव लड्नका लागि यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महतलगायतको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ जगदीश्वरनरसिंह, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरणलगायतको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नं २ को १ नं मा प्रदेशसभाका लागि सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, बैकुण्ठबहादुर पाण्डे, भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाललगायतको नाम सिफारिस भएको छ ।

क्षेत्र नं २ को प्रदेश २ मा प्रत्यक्ष चुनावका लागि जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारीलगायतको नाम रहेको छ । गणेश वाइबा, सरिता अधिकारी र च्याउकीमाया तामाङलाई पनि सिफारिस गरिएको छ ।

समानुपातिकका लागि क्षेत्र नं १ को प्रतिनिधिसभा समानुपातिकमा १३ र निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा समानुपातिकमा नौ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं १ को प्रदेशसभा १ को समानुपातिकतर्फ २३ र क्षेत्र नं १ को प्रदेशसभा २ को समानुपातिकतर्फ २२ जनाको नाम सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा नं १ समानुपातिकतर्फ २० र निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा नं २ को समानुपातिकमा २१ जनाको नाम सिफारिसमा परेको छ ।
१२९ मतदानस्थल
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा १२९ मतदानस्थल कायम भएको छ ।
जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाका ८८ वटा वडाका २४० मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी निर्वाचनका लागि दुई लाख आठ हजार १७४ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनभन्दा करिब २३ हजार मतदाता बढेको बताइएको छ । जिल्लामा एक लाख एक हजार ४२३ महिला, एक लाख छ हजार ७४८ पुरुष र तीन तेस्रो लिङ्गी मतदाता छन् । दुई निर्वाचन क्षेत्र कायम रहेको नुवाकोटमा चार प्रदेश क्षेत्र छन् ।