१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तर्राष्ट्रिय मिडिया सम्मेलन शुरु

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार १८:०९

काठमाडौँ, अभिव्यक्ति स्वतन्त्रताको प्रर्वद्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ ।

नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा भएको उक्त सम्मेलनको उद्घाटन व्यवस्थापिका– संसद्की सभामुख ओनसरी घर्तीमगरले गर्दै लोकतन्त्रका विविध आयाममध्ये अभिव्यक्तिको स्वतन्त्रता एउटा मूलमन्त्र भएको बताउनुभयो ।

सभामुख घर्तीमगरले लोकतन्त्रलाई संस्थागत गर्दै समय सापेक्ष विकास गर्नको लागि अभिव्यक्तिको मुख्य साधन आमसंञ्चार माध्यम रहेको बताउनुभयो ।

उहाँले राज्यको अन्य तीन अंगले गर्ने कार्यसम्पादनलाई स्वतन्त्र ढंगले पर्गेल्ने मुख्य काम सञ्चार माध्यमले गरेकाले पनि आमसञ्चार माध्यमलाई राज्यको चाँैथो अंग मानिएको बताउनुभयो ।

मंसिरमा हुन गइरहेको प्रदेश र संघीय निर्वाचन पश्चात संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा हुने भन्दै उहाँले विभिन्न ऐन कानूनलाई संघीयता अनुकूल संशोधन र परिमार्जन गर्दै लानुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

उहाँले पछिल्ला समयमा पत्रकारमाथि हुने गरेको आक्रमण र हत्याजस्ता अप्रिय घटना न्यूनीकरण हँुदै गएको र यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको आभास भएको बताउनुभयो ।

सभामुख घर्तीमगरले संविधानले प्रेस स्वतन्त्रताको पूर्णरुपमा सुनिश्चत गरिसककेको बताउँदै सीमान्तकरणमा परेका वर्ग तथा समुदायको आवाजलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले संविधानले लेख्ने स्वतन्त्रता ग्यारेन्टी गरे तापनि यसलाई व्यवहारमा उतार्न चुनौती भएको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनुपर्ने भन्दै नेपाली मिडियाले सीमान्तकृत समुदायको आवाज उठाउन नसकेको टिप्पणी गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्रा. पी खरेलले संविधानमा मिडियाको स्वतन्त्रता धेरै भए तापनि कार्यान्वयन भने खासै नभएका धारणा व्यक्त गर्नुभयो ।

दुई दिने उक्त सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फसेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडियालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानलगायत देशका पत्रकार तथा विज्ञहरुको सहभागिता रहेको छ ।