१५ चैत्र २०८०, बिहीबार
Follow Us

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार १८:१५

टोकियो (जापान), भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् ।

अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठको पहलमा यससम्बन्धी अनलाइन सञ्चालनमा ल्याइएको हो ।

कुकदेखि पारिवारिक, व्यावसायिक र अध्ययनमा जापान आउने दरमा भएको वृद्धिसँगै विभिन्न प्रकारका समस्या थपिँदै गएपछि समाधानका लागि हेल्पलाइन अनलाइन शुरु गरिएको हो ।

जापानका विश्वविद्यालयमा अध्ययनपछि उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेको यो प्रविधिअन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारीलगायतका काम हुने डा न्यौपानेले बताउनुभयो ।

भाषा नबुझेर समस्यामाथि समस्या नथपियोस् भन्नका लागि पा“चजना मिलेर संयुक्तरुपमा गरिएको यो कार्यमा अहिले नौ जनाको समूह बनेको छ । डा सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवालीसमेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे जानकारी गराइन्छ ।

जापानवासी नेपालीले स्वास्थ्य समस्या भन्न नसकेर मर्न नपरोस् भनेर चिकित्सकलाई अनलाइनबाट प्रश्न गर्ने गरेका छन् । फोन, मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष बोलेर समस्या राख्दा हुने असहजतालाई ध्यान दिँदै अनलाइन प्रविधि अपनाइएको संलग्न चिकित्सकको भनाइ छ ।