६ चैत्र २०८०, मंगलवार
Follow Us

जमुना गुरुङको अध्यक्ष उम्मेदवारी कोठा नं.१०३ बाट अस्वीकृत

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७४, बुधबार १९:२१

काठमाडौं— वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छिन्। भोलि विहीवार उनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भइरहेको चर्चा चलिरहेका बेला एनआरएन अष्ट्रेलियाका अधिकांश प्रतिनिधिहरुले उनलाई पछि हट्न सुझाव दिएका छन्। जनजाति भोटमा भरोसा गर्दै उम्मेदवार बन्न लागेकी उनलाई आफ्नो आधार मुलुक अष्ट्रेलियाका प्रतिनिधिले उम्मेदवार नहुन सुझाव दिएका हुन्।

उम्मेदवारी घोषणाको पूर्वसन्ध्यामा बुधबार साँझ ५ बजे अष्ट्रेलियाबाट आएका एनआरएन प्रतिनिधिसँग जमुनाले दरबारमार्गस्थित होटल अन्नपूर्णको तेस्रो तलाको कोठा नं. ३०१ मा गोप्य वार्ता गरेकी थिइन्। छलफलमा सहभागीमध्ये पाँच जना मात्र उनको पक्षमा देखिएका थिए।

घले पत्नी अध्यक्षको रुपमा आउनुपर्छ भन्नेमा वर्तमान प्रवक्ता रञ्जु वाग्ले तथा भूमा लिम्बु, देव गुरुङ, नरेश थापा र अर्का एक जना थिए। उनीहरुले जमुना दिदी शेष घलेकी पत्नी मात्र होइनन् भन्दै उम्मेदवारीका लागि उक्साएका थिए।

छलफलमा सहभागी १३ जनाले उनको प्रस्तावित उम्मेदवारीमाथि आलोचनात्मक टिप्पणी गरेका थिए। उम्मेदवारीका लागि तयारी नपुगेको, क्षमता प्रदर्शनभन्दा मनोनित हैसियत नेतृत्वमा हावी भएकाले उनलाई यो पटक अध्यक्षमा उम्मेदवार नबन्न र थप योगदान गर्दै अघि बढ्न सुझाव दिएका थिए। केहीले संस्थामा परिवारवाद र जनजातिकरण भएको भन्दै जमुनाको प्रस्तावित उम्मेदवारीविरुद्ध खुलेरै अभिव्यक्ति दिएका थिए।

युवा संयोजक विजय पोखरेलले आफू परिवारवादको विपक्षमा रहेको भन्दै भवन भट्टलाई मतदान गर्ने उल्लेख गरेका थिए। प्रवक्ता रञ्जु वाग्लेले अध्यक्ष शेष घले र पत्नी जमुनालाई साँघुरो घेरामा राखेर अन्य मान्छेसँग सम्बन्ध बिगार्न भूमिका निर्वाह गरेको विषय छलफलमा उठेपछि वादविवाद भएको थियो। स्थिति झडपमा परिणत हुने सम्भावना बढेपछि जमुना होटलको कोठाबाट बाहिरिएकी थिइन्।

′तपाइँहरुको कुरा सुनेँ, आइदिनुभयो धन्यवाद म भोलि निर्णय गर्छु’ भन्दै उनी कोठाबाट निस्केको बैठकका एक सहभागीले बताए।