काठमाडौं । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले गैरआवासीय नेपाली (एनआरएन) सँग भएको सीप र क्षमतालाई नेपालको पर्यटन क्षेत्रमा लगाउनुपर्ने बताउनुभएको छ ।

‘हाम्रोकलम डट कम’ अनलाइन पत्रिकाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियाम राज्यमन्त्री विष्टले विश्वको जुनसुकै कुनामा रहे पनि हरेक नेपालीले नेपालका बारेमा चासो र चिन्ता लिनुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्यथलो जुनसुकै स्थानमा भए पनि एनआरएनले नेपाल र नेपालीलाई सधैँ माया गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेष्ट एनआरएन अवार्ड बेल्जियममा लामो समयदेखि बस्ने रजनी प्रधान तथा मिडिया अवार्ड विदेशमा बसेर लेख रचनामार्फत सहयोग गरेबापत बेलायतमा बस्ने कुल आचार्यलाई प्रदान गरियो ।

त्यस्तै सामाजिक सेवा सम्मान जर्मनीमा बस्ने नारायण अधिकारी र बेल्जियममा बस्ने चिजकुमार श्रेष्ठलाई दिइयो । नेपाल मिडिया अवार्ड लोकप्रसाद दाहाललाई तथा बेस्ट युरोपियन एनआरएन एनसिसी अवार्ड लक्जम्बर्गमा बस्ने नारायण गुरुङलाई दिइयो ।