१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेता पौडेलले स्थापना गरे समानान्तर कार्यालय

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार ०५:३०

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्ना सम्पर्क कार्यालयमार्फत समानान्तर अभियान सुरु गरेका छन् । सत्ताको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसमा विवाद उत्पन्न गराएर ६ महिनालगत्तै सरकार ढाल्ने उद्घोष निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले गर्नु र कांग्रेसका अल्पमत पक्षका नेता पौडेलले महाधिवेशनताकाका आफ्ना सम्पर्क कार्यालय ब्युँत्याएर समानान्तर अभियान सुरु गर्नुलाई रहस्यमय मानिएको छ । उनले दुई÷दुईवटा सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर अभियान चलाएको बताइन्छ ।
पौडेलको एउटा सम्पर्क कार्यालय बालाजु बनस्थलीको ढुंगेधारा नजिकै छ भने अर्को सम्पर्क कार्यालय अनामनगरमा छ । अब पार्टीलाई ६०÷४० को भागबन्डाबाट मुक्त गर्ने मुख्य एजेन्डाका साथ महाधिवेशनमा सभापति पदको उम्मेदवार बनेका पौडेलले यतिबेला ४० प्रतिशत भाग माग्नुको मुख्य कारण उनीमाथि सुरु भएको तीव्र दबाब हो । पार्टी सभापति शेरबहादुर देउवा र पौडेलबीच अहिले पनि व्यक्तिगत सम्बन्ध निकै राम्रो छ । दिनदिनैजसो टेलिफोन संवाद हुने गरेको छ । सुरुमा देउवासँग पौडेलले भनेका थिए– ‘मैले मन्त्री बनाउनुपर्ने मान्छे खासै छैनन्, मन्त्री बनाइदिएर आफ्ना हुने पनि होइनन्, त्यसैले विवेक प्रयोग गर्नोस् ।’
तर पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा.मिनेन्द्र रिजाल र बलबहादुर केसीसँग निवर्तमान प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै भेट गरेपछि पौडेलको सम्पर्क कार्यालयहरू एकाएक सक्रिय भए । ४० प्रतिशतको अडान नलिए अर्कैलाई नेताका रूपमा अघि सार्ने चेतावनी सिंह, केसी, रिजाललगायतका नेताले दिएको समाचार स्रोतले जनाएको छ । खासगरी पार्टी विभाजनका बेला मन्त्री बन्नकै लागि देउवासँग लागेको र पछि फेरि मन्त्री बन्नकै लागि कोइरालातिर लागेको एउटा स्वार्थी समूहलाई एमाले अध्यक्ष ओलीले प्रयोग गरेका छन् । यही समूहमार्फत पौडेललाई उचालिएको बताइएको छ । नेपाली कांग्रेसले पाउने १२ मध्ये चारवटा मन्त्रालयका  लागि नाम पठाउन देउवाद्वारा पौडेललाई आग्रह गरिएको थियो ।
पौडेल समूहमा मन्त्री नबनाई नहुने सांसदहरू खासै छैनन् । मन्त्री नबनाई नहुनेमा तारिणीदत्त चटौत हुन्, तर नाताले सम्धी पर्ने भएका कारण चटौतलाई पठाउने हिम्मत पौडेलसँग छैन । महाधिवेशनका बेला पौडेललाई सहयोग गर्ने सांसद तेजुलाल चौधरी हुन् । चौधरीको मामिलामा पौडेललाई सजिलो छैन । दिलबहादुर घर्ती पनि मेरो अन्तिम पटक हो भन्दै रोइकराई गर्न थालेका छन् । महाधिवेशनताका सहयोग गरेका आनन्द ढुंगाना, सञ्जय गौतम, नवीन्द्रराज जोशी, रामकृष्ण घिमिरे, कमला पन्त, धनराज गुरुङ, यज्ञबहादुर थापा, रामकृष्ण यादव, राजेन्द्रबहादुर अमात्य, बद्री पाण्डे, सुरेन्द्रराज आचार्य, जीवन परियारलगायत करिब दुई दर्जन सांसदहरूले पौडेलसमक्ष मन्त्री बन्न लबिङ गरिरहेका छन् ।