८ बैशाख २०८१, शनिबार
Follow Us

थप चार मन्त्रीले सपथ लिए, माओवादीका मन्त्रीहरु हटाइने

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७४, शनिबार १५:५२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित अन्य तीनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीको सपथ गराउनुभएको छ । राष्ट्रपति भण्डारीले थापासहित जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर पाण्डेलाई सपथ गराउनुभएको हो ।
निर्वाचन आचार संहिता लागु भइसकेपछि सरकार विस्तार गर्न मिल्ने नमिल्ने भन्ने बारेमा राष्ट्रपति भण्डारीले निर्वाचन आयोगसँग परामर्श गरेकी थिइन । छलफलमा आयोग पदाधिकारीले आचार संहिता लागु भइसकेपछि यसअघि पनि सरकार विस्तार भएकाले अब पनि सरकार विस्तार हुन नरोकिने सुझाव दिएपछि राष्ट्रपतिले सपथको समय निर्धारण गरेकी हुन । प्रधानमन्त्रीले हिजै मन्त्रीको नाम पठाए पनि यसअघि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको आचारसंहिता लागु भएको स्थितिमा मन्त्रिमण्डल विस्तार गर्न मिल्ने या नमिल्ने अन्यौलका कारण सपथ रोकिएको थियो ।
प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका थिए । प्रधानमन्त्रीले कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्री नियुक्त गरेका छन । विस्तारसँगै मन्त्रिपरिषद् अहिलेसम्मकै सबैभन्दा ‘जम्बो’ ६४ सदस्यीय भएको छ । कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादी केन्द्रले प्रमुख विपक्षी दल एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री देउवा माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री निश्कासन गर्ने तयारीमा छन् । शुक्रबार नियुक्त भएका मन्त्रीलाई माओवादीले सम्हालेका मन्त्रालय दिने बताइएको छ । राप्रपाले दुई दिनअघि मात्रै निर्वाचनको सुनिश्चितताका लागि भन्दै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।।