१५ चैत्र २०८०, बिहीबार
Follow Us

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आज बुझाइँदै

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार ०५:०४

काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । संविधानसभाबाट जारी नेपालको संविधान अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची पेश गर्नुपर्नेछ । निर्वाचन आयोगले ८८ दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्दा महिला उम्मेदवारको संख्या ५० प्रतिशित पु-याउनुपर्नेछ ।
नेपालको संविधानले संघीय व्यवस्थापिकामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । कुनै राजनीतिक दलले प्रत्यक्षतर्फबाट एक तिहाई महिला सदस्य सुनिश्चित गर्न नसकेमा समानुपातिक निर्वाचन प्रणालीबाट सुनिश्चित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
नेपालको संविधानले संसद्मा महिलाका प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै समानुपातिक र समावेशी सिद्वान्तलाई आत्मसात गरेको छ ।
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत महिला, दलित, आदिवासी जनजाति, खस आर्य (क्षेत्री, ब्राह्मण, ठकुरी र सन्यासी÷दशनामी), मधेशी, थारु, मुस्लिमको समावेशी प्रतिनिधित्वका लागि तत् समुदायको जनसंख्याका आधारमा उम्मेदवारी प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको नामावली पेश गर्दा भूगोल र प्रादेशिक सन्तुलन तथा पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले यस प्रणालीबाट निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने र कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने कानूनी प्रावधान रहेको छ । नेपाल सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै दिन दुई चरणमा सम्पन्न गर्नेगरी मिति तय गरेको छ ।