१३ बैशाख २०८१, बिहीबार
Follow Us

भवन भट्ट र जमुना घलेमध्ये एकजना एनआरएन अध्यक्ष

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार १३:५९

नारायण गाउँले
जमुना घले वर्तमान अध्यक्ष शेष घलेकी धर्मपत्नी र वर्तमानमा मनोनीत केन्द्रीय सदस्य हुन् । स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी विगत दुई वर्षमा संस्थाका अध्यक्षसँगै प्रायः सबै परोपकारी क्रियाकलापमा प्रत्यक्ष संलग्न छिन् । उनमा व्यावसायिक अनुभव र क्षमतासँगै व्यवस्थापकीय ज्ञान पनि छ । शेष घलेले दुई कार्यकाल अध्यक्ष भएर चलाइसकेपछि आफ्नै पत्नीलाई नेतृत्व सुम्पिन चाहेका छन् । उनी केन्द्रको कुनै पनि निर्वाचनमा भाग लिएकी या परीक्षित भएकी छैनन् । संस्थामा उनको लामो अनुभव र योगदान नभएको अनि परिवारवादको गन्ध आउने हुनाले उनको उम्मेदवारीलाई धेरैले शङ्काका दृष्टिले हेरे पनि उनका प्रसंशक र समर्थकको पनि बाक्लै उपस्थिति छ । विवादकै बीच पनि शेष घलेले भूकम्पलगायतका विपत्तिमा गाउँ गाउँ पुगेर र निरन्तर खटेर गरेको सेवा र योगदानको क्रेडिट पनि श्रीमती घलेले पाउन सक्छिन् । धेरै समर्थकलाई उनी मनोनीत सदस्यबाट सोझै अध्यक्षमा उठ्नुभन्दा उपाध्यक्षमा एक कार्यकाल काम गरेर आएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छ ।
भवन भट्ट वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । दुई कार्यकाल उनले उपाध्यक्षका रूपमा बिताएका छन् । उनीसँग संस्थाको लामो अनुभव छ । उनलाई आगामी कार्यकालमा सघाउने अनौपचारिक आश्वासन दिएर शेष घले दोस्रो कार्यकालमा अध्यक्ष निर्वाचित भएको हल्ला चलेको थियो । उनमा पनि व्यावसायिक र प्रशासनिक क्षेत्रमा लामो अनुभव र ज्ञान छ । युवाहरूमाझ अत्यधिक लोकप्रिय भट्ट लामो समय शेष घलेकै निकट रहेर काम गरेका थिए । जमुना घले अध्यक्ष उठ्ने भएसँगै उनी शेष घलेको क्याम्पबाट बाहिर पुगेका हुन् । हेटौँडा-काठमाडौं सुरङ्ग मार्गको असफलतालाई लिएर धेरैले भट्टको क्षमतामाथि औंला उठाउने गरेका छन् । कामभन्दा प्रतिबद्धता धेरै गर्ने व्यक्तिका रूपमा उनको चित्रण गर्ने गरिए पनि नेपालको पर्यटनप्रबर्द्धनदेखि एनआरएनए अभियानमा उनको लामो अनुभव र सक्रियताले गर्दा उनको उम्मेदवारी बलियो देखिन्छ । उनलाई संस्थाका संस्थापक अध्यक्ष उपेन्द्र महतोको शुभेच्छा रहेको अनुमान छ ।