१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भवन भट्टलाई मुख्य दलको समर्थन

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७४, सोमबार १०:४८

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष प्रत्यासी भवन भट्टलाई मतदान गर्न मुख्य दलहरु आफ्ना प्रवासी संगठनलाई आग्रह गरेका छन् । अध्यक्षका उम्मेदवार भट्टलाई नेपाली काँग्रेस, एमाले, माओवादी र राप्रपाको समर्थन पाएको बताइएको छ ।

नेपाली कांगे्रसको प्रवाशको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले उपाध्यक्षका उम्मेदवार कुल आचार्यलाई अघि सारेको छ । तालमेल गर्नुपरेकाले अध्यक्षमा भट्टलाई सहयोग गर्दै जनसम्पर्क समितिले एनआरएनमा आचार्यलाई अघि सारेको हो ।

यस्तै एमालेको प्रवासी नेपाली मञ्चले अध्यक्षमा आफ्नो उम्मेदवार नरहेकाले भट्टलाई समर्थन गर्ने बताएको छ । यद्यपि एनआरएनमा मञ्चको नेतृत्व भने उपाध्यक्ष पदका प्रत्यासी कुमार पन्त र महासचिवका उम्मेदवार डा. बद्री केसीले गर्ने बताइएको छ ।

अध्यक्षका प्रत्यासी भट्टले केही समयअघि काँग्रेस नेतृत्वसँग भेटघाट गरेका थिए । भेटपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरु बलियो हुन जरुरी रहेको भन्दै भट्टलाई समर्थन गर्न पार्टीको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिलाई निर्देशन दिएका थिए ।

यसअघि भट्टसहितका एनआरएन नेताहरुलाई काँग्रेसले पार्टी कार्यालय सानेपामा स्वागत गरेको थियो । पार्टीका विभिन्न तहका नेताहरुले भट्टसँग छुट्टाछुट्टै पनि बैठक गरेको थियो ।

भट्टले एमालेको पनि समर्थन पाएका छन् । आफ्नो कुनै उम्मेदवार नभएको स्थितिमा भट्टलाई समर्थन गरेर जाने निर्णय एमालेको प्रवासी नेपाली मञ्चले गरेको छ। ‘हाम्रा दुई मुख्य उम्मेदवारलाई एडजस्ट गर्ने सर्तमा उहाँलाई समर्थन गरेर जाने निर्णय भएको हो’, प्रवास हेर्ने एकजना एमाले केन्द्रीय सदस्यले भने, ‘हाम्रो उम्मेदवार कोही नभएको अवस्था देखिएको र साथीहरुलाई एडजस्टमेन्टको सुनिश्चितता गरेपछि भवन भट्टलाई समर्थन गर्ने निर्णय भएको हो ।’
यसैगरी खाडीबाट सचिव डिबी क्षेत्रीलाई पनि भवन भट्ट प्यानलमा सहभागी गराउने भएपछि माओवादीले पनि भट्टलाई समर्थन गर्ने निर्णय गरेको छ । यस बाहेक राष्ट्रिय प्रजातान्त्र पार्टीको समर्थन पनि भट्टले पाएका छन् ।

एनआरएनएको नेतृत्व चयन गर्न सोमबार दिउँसो काठमाडौंको होटल हायतमा निर्वाचन हुनुअघि दलहरुले यस्तो निर्णय गरेका हुन् । अध्यक्षका लागि बलियो उम्मेदवार ठानेका भट्टलाई मुख्य दलहरुले समर्थन दिएपछि अब उनको विजय सम्भावना अझ बलियो बन्न पुगेको छ । वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले र भट्टबीच प्रतिस्पर्धा हुँदैछ ।