१३ बैशाख २०८१, बिहीबार
Follow Us

माओवादी केन्द्र विना विभागीय मन्त्रालय लिने तयार, सरकार नछोडने

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७४, मंगलवार १०:०३

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव नगर्ने षड्यन्त्र गरेकाले आफूहरु सरकार नछोड्ने निष्कर्षमा पुगेको गृहमन्त्री जर्नादन शर्माले आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिए । सरकारमा बसेर प्रतिपक्षी दलसँग गठबन्धन गर्ने माओवादी केन्द्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हट्न पटकपटक आग्रह गरेका थिए । तर माओवादी सरकारमा विना विभागीय मन्त्रालय लिएर भए पनि बस्न तयार रहेको जानकारी गृहमन्त्री शर्माले बताए ।
माओवादी केन्द्रले सरकार नछोडेपछि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रलाई विना विभागीय जिम्मेवारी दिने र राप्रपाबाट नियुक्त भएका विना विमागीय मन्त्रीलाई माओवादी केन्द्रले सम्हालेको मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका थिए । प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्नु अघि नै माओवादी केन्द्रका मन्त्रीहरुले आज राजीनामा दिने अनुमान गरिएको थियो । तर माओवादी केन्द्र सरकार नछोड्ने निष्कर्षमा पुगेको छ ।
माओवादी केन्द्रका मन्त्रीलाई घटुवा गरेर विना विभागीयमा झारिने तयारी भएको छ । राप्रपा अध्यक्ष कमल थापालाई उपसहित ऊर्जा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइनेछ । गृह मन्त्रालय भने नेपाली कांग्रेस आफैंले राख्ने निश्चित भएको छ । बहालवाला मन्त्रीहरूलाई नै खाली मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बाध्यता छ । गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिइने भन्ने टुंगो प्रधानमन्त्री देउवाले गरिसकेका छैनन् ।
माओवादीले सम्हाल्दै आएका नौ मन्त्रालयमध्ये चारवटा राप्रपाले पाए पनि पाँचवटा कांग्रेसले नै सम्हालने छ । आजै अथवा भोलि बुधबारसम्ममा उनीहरूलाई जिम्मेवारी दिने तयारी छ । भूमिकाविहीन भएका केही सिनियर राज्यमन्त्रीलाई ती मन्त्रालय दिन सकिने समाचार स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालय उपप्रधानमन्त्री कृष्णबहादुर महराले र गृह मन्त्रालय जनार्दन शर्माले सम्हालेका थिए । यसबाहेक माओवादीका मन्त्रीहरूले स्वास्थ्य, सहरी विकास, सामान्य प्रशासन, महिला बालबालिका तथा समाजकल्याण, ऊर्जा, पशुविकासलगायतका मन्त्रालयहरू सम्हालेका छन् ।