६ चैत्र २०८०, मंगलवार
Follow Us

जहाँ देउसी भैलो खेल्न पाइँदैन

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७४, बिहीबार ०५:४४

जाजरकोट । जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो ।

लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनाँै समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वर्षांैदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगतदेखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताउनुभयो ।

महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो अन्त्य वा मार्ने गरिन्छ । भैलो मार्दा बेहुला, बेहुली बनाई कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्न जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शक पुग्ने गर्दछन् ।

लैखमका प्रत्येक घरबाट भैलो मनाउनका लागि रकम र चामल संकलन गरिन्छ । बाटोमा हिँड्ने यात्रुबाट पनि रकम उठाउने गरिन्छ । यात्रुले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाई दिने चलनसमेत रहेको छ । लैखममा अहिलेसम्म दलित बस्ती बस्न सकेको छैन ।

दलितले यो गाउँमा बस्ने बित्तिकै अनिष्ट हुने विश्वासका कारण बस्न नसकेको खत्रीको भनाइ छ । गाउँमा रमाइलोका लागि नभई देवतालाई खुशी बनाउन महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ ।

यो पर्व मनाउन छाडेमा महादेवले हानि गर्ने भएकाले आफूहरु यस्तो कार्य गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।