६ चैत्र २०८०, मंगलवार
Follow Us

ब्रिटिश कलेजमा एनआरएनका निर्वाचित पदाधिकारीलाई सम्मान

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७४, शुक्रबार ०९:४४

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनका नवनिर्वाचित पदाधिकारीहरुलाई काठमाडौंस्थित द ब्रिटिश कलेजले सम्मान गरेको छ । बुधबार बिहान कलेजमा आयोजित एक सम्मान तथा स्वागत समारोहमा एनआरएनका नवनिर्वाचित अध्यक्ष भवन भट्ट नेतृत्वको टोलीलाई सम्मानित भएका हुन् ।

अध्यक्ष भट्टसंगै उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, कोषाध्यक्ष हिक्मत थापा लगायतलाई कलेजका निर्देशकद्धय महेन्द्र कंडेल र नरेन्द्र कंडेलले खादा ओढाएर सम्मान गरे । त्यसअवसरमा कलेजका निर्देशक महेन्द्र कंडेलले नवनिर्वाचित अध्यक्ष भट्ट नेतृत्वको कार्यसमितिलाई बधाई ज्ञापन गरे ।

सम्मान ग्रहण गर्दै अध्यक्ष भट्टले ब्रिटिश कलेजलाई धन्यवाद दिए । बेलायती गुणस्तरको उच्च शिक्षा नेपालमै संचालन गरेकोमा उनले कलेजको प्रशंसा गरे । आगामी दिनमा एनआरएनका कैयौं प्रोजेक्टहरुमा कलेजसंग सहकार्य हुने आशा समेत उनले व्यक्त गरे ।

यसैबीच सोहि अवसरमा एनआरएन यूकेको नयां कार्यसमितिका पदाधिकारीहरु समेतलाई ब्रिटिश कलेजले सम्मान गरेको छ । अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु ललित न्यौपाने, पुनम गुरुङ , शेर सुनार र सुशिला राई, उपमहासचिव विनय अधिकारी र सदस्य अर्कराज तिमल्सिनालाई सम्मान गरियो ।

त्यस्तै बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, जनसम्पर्क समिति यूकेका महामन्त्री केशव भण्डारी, पशुपतिनाथ मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी, एकाउण्टेन्ट एलएन पाण्डे ,पत्रकार शिव भण्डारी लगायतलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि एनआरएन यूकेका अध्यक्ष फगामीसहित अन्य पदाधिकारीहरुले ब्रिटिश कलेजले नेपालमा उदाहरणीय काम गरिरहेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

एनआरएन यूकेको टोलीले कलेजको अवलोकन गरिसकेपछि बेलायतमै रहेका कलेजहरुको भन्दा बढि गुणस्तरको पूर्वाधार ब्रिटिश कलेजले तयार गरेको भन्दै कलेजको प्रशंसा समेत गरेको थियो ।