१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डनमा म्ह पूजा र नेपाल सम्वत

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७४, सोमबार १९:४३

लन्डन । पासा पुच गुठी साउथ इष्ट लन्डनले २० अक्टोबर सांझ लन्डनमा एक समारोहबीच म्ह पूजा र नेपाल सम्वत (११३८) मनाएको छ । परम्परागत नेवारी र नेपाली राष्ट्रिय पोशाकमा सहभागी करिब तीनसयको उपस्थितिमा १८० जनाले म्ह पूजा गरे । नेवार समुदायमा कात्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो आत्मा (म्ह) पूजा गर्ने परम्परा छ । उता, राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८०२) मा गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वत शुरुआत गरेका थिए ।

मिचेल कम्युनिटी हल, वेलिङमा आयोजित उक्त कार्यक्रममा सहभागीलाई समे बजीले स्वागत गरिएको थियो ।

पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी थिए दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे । प्रजापति र घिमिरेले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रम संयोजक माधवलाल श्रेष्ठले स्वागत मन्तव्य दिए । मनिषकुमार श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथी घिमिरे, पासा पुच गुठी यूकेका अध्यक्ष कुमार श्रेष्ठ र आयोजक संस्थाका अध्यक्ष प्रजापतिले शुभकामनासहित आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहयो । उक्त अवसरमा नेवा झांकी प्रस्तुत गरियो जसमा कुमारी (फियोना महर्जन) र पञ्चकन्या (रिउरी मास्के, स्टेल्सा मास्के, आर्या श्रेष्ठ, अरिसा श्रेष्ठ, सर्लिन श्रेष्ठ) सहभागी थिए । धिमे बाजा संगै सुनिता गौतमले मन्जुश्री नृत्य प्रस्तुत गरिन् भने विनोद चिपालुले लाखे नाच प्रदर्शन गरे । सत्यप्रसाद प्रजापतिले 
भैरवनाथ, आयुषा श्रेष्ठले महालक्ष्मी र इर्भिन श्रेष्ठले भुच्चा नाच देखाए । देवी, बेटा ध्व लगायत नाच पनि देखाइएको थियो ।