४ बैशाख २०८१, मंगलवार
Follow Us

विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार ०८:१२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी युवा–युवतीको टोली सोमबारदेखि श्रमदानमा जुटेका छन् ।

विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने तीन कोठे विद्यालय भवन निर्माणका लागि केयर संस्थामा आबद्ध २२ विदेशी युवा–युवतीको टोली श्रमदानमा जुटेको हो ।

भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र सिमेन्टको गाह्रो लगाउने कार्यमा विदेशी टोलीका युवाले श्रमदान गरिरहेको विद्यालयका शिक्षक तेजबहादुर सुनारले बताउनुभयो । टोलीले एक सातासम्म विद्यालय निर्माणका लागि श्रमदान गर्ने छन् उहाँले भन्नुभयो ।

टोलीमा संलग्न जोई डोग्लेले स्थानीयसँगको समन्वयमा कार्य गर्न निकै राम्रो लागेको बताउनुभयो ।

दुर्गम गाउँमा आएर कार्य गर्न पाउँदा निकै खुसी भएको उहाँले बताउनुभयो । विल्डवन नेपालका प्राविधिक टंक भुसालका अनुसार रू २५ लाखको लागतमा निर्माण गरिने भूकम्प प्रतिरोधी विद्यालय भवनमा तीन कोठा र दुई वटा शौचालय निर्माण गरिने छन् । विद्यालय निर्माणका लागि स्थानीय समुदायका तर्फबाट ढुंगा, बालुवा, गिट्टी, काठको जोहोसँगै श्रमदान गर्नु पर्ने र संस्थाले सिमेन्ट, फलामे छड र भवन निर्माण गर्ने दक्ष कामदार र प्राविधिक सहयोगको व्यवस्था गर्नेछ । नगर प्रमुख दिलबहादुर ऐर र दुवई केयर संस्थाका प्रमुख अब्दुल्लाहले सो विद्यालय भवनको संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो ।