१४ बैशाख २०८१, शुक्रबार
Follow Us

देवघाटका जेष्ठ नागरिकलाई क्याट बेल्जियमको ब्ल्यांकेट

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १५:२८

भरतपुर । चितवन सहायता कोष (क्याट) बेल्जियमले देवघाटमा रहेका बृद्धाहरुलाई ब्ल्यांकेट र फलफूल वितरण गरेको छ । चितवन सहायता समाजको समन्वयमा देवघाट क्षेत्र विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा घर परिवारबाट टाढा रहेका कुटीमा एकल जीवन बिताइरहेका करिव ५० जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट र फलफूल वितरण गरिएको हो ।
रोजगारको सिलसिलामा बेल्जियममा रहंदै आएका चितवनका बासिन्दाले खोलेको संस्था क्याट बेल्जियमले आफ्ना सदस्यबाट संकलन गरेको रकमले उक्त सहयोग गरेको उपाध्यक्ष राजु घिमिरेले बताए । जाडोको समयमा अव्यवस्थित बसाइकै कारण चिसो लाग्ने रोगबाट बचाउन आफुहरुले ब्लयांकेट सहयोग गरेको उनले बताए ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका व्यवस्थापक ढकराज कोइरालाले वैदेशिक रोजगारमा गएकाहरुले आफ्नो कमाइको केही अंश सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नु प्रेरणादायी भएको बताए । देवघाटमा बृद्धाश्रम सञ्चालनसँगै विकास निर्माणका काममा समेत सहयोगी दाताको भूमिका महत्वपूर्ण रहंदै आएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गौरानन्द सरस्वतीले कुटीमा महिलाहरुका समस्याबारे थप बताएकी थिइन । अधिकांश एकल महिला तथा परिवारबाट अपहेलित ज्येष्ठ नागरिक बस्न आउने थलोमा पछिल्लो समय बांदर आतंकसमेत फैलिएपछि देवघाटमा जीवनयापन कष्टकर बनेको उनले बताइन ।
क्याट बेल्जियमका संस्थापक अध्यक्ष सीता सापकोटाले काम गर्न सक्ने उमेरका व्यक्तिका लागि समेत घरपरिवारबाट टाढा रहनु कष्टकर हुने भन्दै उमेर ढल्किंदै गर्दा वृद्धाश्रमको बसाई असहज हुने अनुमान गर्न सकिने बताइन् । आफ्नो संस्थाले निकै ठूलो परविर्तन ल्याउन नसके पनि सहयोगका लागि सानै कदम सुरु गरेको उनले बताइन् ।
कार्यक्रममा एनआरएनकी नवनिर्वाचित सचिव जानकी गुरुङलाई क्याट बेल्जियमले सम्मान गरेको छ । सो क्रममा गुरुङले आफ्नो जन्मभूमिको विकासका लागि हरेक नेपाली चिन्तनशील रहने उल्लेख गरिन् । आजै क्याट बेल्जियमले देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको बृद्धाश्रममा आश्रितहरुलाई बिहानको खानासमेत खुवाइएको थियो ।
एनआरएन अमेरीकाकी उपाध्यक्ष राधा पौडेलले कुटीमा जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुका लागि ५ हजार सहयोग समेत हस्तान्तरण गरिन् । देवघाटमा एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको कति हिडडुल गर्न पनि नसक्ने अवस्थामा रहेको बताउदै इन्दिरा आश्रमकी सचिव गोमा अर्यालले कुटीमा नै सहयोग पुराइदिन आग्रह समेत गरिन् ।
चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले गैरआवासीय चितवन बासीको सहयोग प्रशंसनीय रहेको बताए ।
20171024_103749

20171024_104457