७ बैशाख २०८१, शुक्रबार
Follow Us

फोरम र राजपा सिट बाँडफाँटको सहमति नजिक

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १५:३३

काठमाडौं । चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ ।

दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भए पनि नेपाली काँग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुङ्ग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनिष सुमनले जानकारी दिनुभयो ।

“काँग्रेस र फोरमसँगको वार्ता करिब सहमति नजिक पुगेको छ, लोकतान्त्रिक गठबन्धनले कसरी विजय सुनिश्चित गर्नसक्न सोही आधारमा तालमेल गरी उम्मेदवार उठाउन अहिले अध्ययन गरिरहेका छौँ”– उहाँले भन्नुभयो ।

समाजवादी फोरमको तर्फबाट कार्यदलका सदस्य राम नरेशराय यादवले उम्मेदवारको तालमेलबारे करिब सहमति नजिक पुगेको बताउनुभयो । प्रतिनिधि र प्रदेशसभामा कस्ता र कुन उम्मेदवारलाई उठाउने भन्नेबारे केही असमझदारी रहेकाले त्यो चाँडै टुंगिने उहाँको भनाइ छ ।

दुई पार्टीबीच प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको बताइएको छ । फोरम–राजपाले काँग्रेससँग पनि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति गरेअनुरुप छलफल चलिरहेको छ । फोरम र राजपाबीच सहमति भएपछि मात्रै काँग्रेससँग छलफल गर्ने नेता सुमनले बताउनुभयो ।