७ बैशाख २०८१, शुक्रबार
Follow Us

पांचथर समाज सेवा यूकेको नयां कार्यसमितिको पहिलो बैठक

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १९:४१

लन्डन । पांचथर समाज सेवा यूकेको नयां कार्यसमितिको पहिलो बैठक गत २२ अक्टोबर आइतवार सम्पन्न भएको छ । फार्नबोरोस्थित गोर्खा सेक्युरिटी सर्भिसेजको सभा कक्षमा बैठक भएको हो । 
बैठकको सभापतित्व चन्द्र बहादुर सुन्दासले गरेका थिए । उक्त अवसरमा समाजका पूर्व महासचिव नगेन्द्र राज नेम्बाङले निवर्तमान कार्यसमितिको तर्फबाट समाजका सामाग्री औपचारिक रुपमा नयां कार्यसमितिलाई हस्तान्तरण गरे ।

बैठकले गत अगस्टमा भीषण वर्षाका कारण पांचथरको फालेलुङ गाउंपालिकामा आएको पहिरोले ज्यान गुमाएकाहरुका आफन्त र घरवारविहीन परिवारहरुको सहयोगार्थ अर्थ संकलन गर्ने कार्यलाई पूर्णता दिई नोभेम्बरमा उक्त सहयोग राशी नेपाल पठाउने निर्णय गरेको छ ।

त्यस्तै समाजले सातौं पांचथर कप फुटबल प्रतियोगिता आउंदो मे ४ तारिख २०१८ का दिन सदा झैं फेल्थाम कम्युनिटी स्पोर्टस ग्राउण्डमा गर्ने भएको छ । बैठकले टेक माबोको संयोजनमा सातौं पांचथर कप आयोजना समिति गठन गरेको छ । कुल ३२ वटा टिमलाई खेलाइने उक्त प्रतियोगितामा साधारण, भेट्रान र सुपर भेट्रान गरी तीन वर्गमा खेलाइने समाजले बताएको छ । बैठककले प्रतियोगिताका लागि टिम 
प्रवेश शुल्क २ सय पाउण्ड तोकेको छ ।

बैठकले आगामी दुई वर्षका लागि समाजका कार्ययोजनाहरु समेत तय गरेको छ । जस अन्तर्गत ११ औं वार्षिक समर भेटघाट कार्यक्रम जुन १६ मा र १२ औं भेटघाट कार्यक्रम जुन १५, २०१९ मा 
गर्ने भएको छ । आठौं पांचथर कप प्रतियोगिताका लागि मिति भने २०१९ को मे ४ तारिख तोकिएको छ । बैठकले आगामी दुई वर्षका लागि सल्लाहकार र क्षेत्रीय प्रतिनिधिहरु नियुक्त गरेको छ भने दिल सम्बाहाम्फेको संयोजनमा विधान संशोधन समिति पनि गठन गरेको छ । महिला विभागको प्रमुखमा श्रीमती नन्द कुमारी सुन्दासलाई नियुक्त गरिएको छ ।

समाजले आगामी दुई वर्षका लागि आफ्ना कार्यक्रमहरुमध्ये उपाध्यक्ष शान्ति लिम्बुको संयोजनमा २०१९ को अन्ततिर एक च्यारिटी डिनर गर्ने र कृष्ण हेम्ब्याको संयोजनमा समाजको मुखपत्र प्रकाशन गर्ने लक्ष्य लिएको छ ।